काठमाडौं । उच्चशिक्षा अध्ययनका लागि भारतमा बर्सेनि १० हजारभन्दा बढी नेपाली विद्यार्थी जाने गरेका छन् । तर सरकारसँग यसको कुनै तथ्यांक छैन । सरकारी तथ्यांकमा जम्मा २ हजारको हाराहारीमा मात्रै विद्यार्थी भारत गएको देखिन्छ ।
नेपाल भारत खुला सीमानाका कारण धेरैजसो विद्यार्थी वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिई भारतमा अध्ययनका लागि गरेका छन् । सही तथ्यांक समेत नहुने सरकारले उनीहरूको शिक्षा र सुरक्षाको बारे सरकारले कसरी काम गर्ला ?
शिक्षा मन्त्रालयका अनुसार भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्ययुट अफ टेक्नोलोजी नामक विश्वविद्यालयमा १५ सयभन्दा वढी नेपाली विद्यार्थी अध्ययनरत छन् । त्यहाँ अध्ययनका लागि जाने प्रायः विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्रबिना नै जाने गरेका छन् ।
शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार चालु वर्षको फागुन ३ गतेसम्ममा २ हजार ११७ जना विद्यार्थीले भारतमा अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएको देखिन्छन् । स्वास्थ्यशिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि लगायत विषय अध्ययनका लागि वर्षमा करिब १० हजारभन्दा बढी नेपाली विद्यार्थी भारत जाने गरेको शैक्षिक परामर्शदाता संस्थाहरूको अनुमान छ । खुला सीमानका कारण अधिकांश विद्यार्थी एनओसीबिनानै जाने गरेका छन् । धेरै विद्यार्थी शैक्षिक परामर्शदाता संस्थाको पहलमा गएका छन् भने केहीलाई अभिभावकले सीधै भारत लगेर विश्वविद्यालयमा दाखिला गरेका छन् ।
भारत बाहेक अन्य मुलुकको हकमा भने उच्चशिक्षा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमतिपत्र अनिवार्य व्यवस्था गरिएको छ । शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ लाख १२ हजार विद्यार्थीले ७० वटाभन्दा बढी देशमा उच्चशिक्षा अध्ययनका लागि अध्ययन अनुमतिपत्र लिएका थिए । ०७९/८० मा भने १ लाख ८ हजारले एनओसीले लिएका थिए । गत वर्ष व्यवस्थापनमा २९ हजार ७ सय, जापनी भाषामा २१ हजार, बिजनेशमा १२ हजार ८ सय, सूचना प्रविधिमा ९ हजार ५ सय र स्वास्थ्य शिक्षामा ५ हजार ५ सयभन्दा बढी विद्यार्थीले एनओसी लिएको देखिन्छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा उच्चशिक्षा अध्ययनका लागि विदेशिने विद्यार्थीबाट ५६ अर्ब ८३ करोड रुपैयाँ विदेशियो भने गत वर्ष १ खर्ब २५ अर्ब नेपाली रुपैयाँ विदेशिएको थियो ।
त्यसो त नेपालमै हरेक विषयको अध्ययन गर्न पाउने व्यवस्था भए पनि स्वदेशका विश्वविद्यालय र कलेजहरूमा भने विद्यार्थीको चरम अभाव सिर्जना हुन थालेका छन् । सूचना प्रविधि इन्जिनियरिङ जस्ता विषय स्वदेशमै राम्रो अध्ययन अध्यापनको व्यवस्था हुँदाहुँदै पनि विद्यार्थी त्यही विषय अध्ययनका लागि विदेशिने गरेका छन् । स्वदेशमा उच्चशिक्षासँगै रोजगारीका अवसर नहुँदा पनि विद्यार्थी विदेशिएका हुन् ।