मधेशमा अब सरकारीस्तरबाटै एमबीबीएस पढाइ

माघ २१, २०८१ |अनिल मिश्र
मधेशमा अब सरकारीस्तरबाटै एमबीबीएस पढाइ

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्र तर्फ स्नातक तह एमबीबीएसको पठन पाठन सुरू भएको छ । यस अघि नै स्नातक तर्फ बिएस्सी नर्सिङ, पब्लिक हेल्थ र मेडिकल ल्याब टेक्नोलोजीको कक्षा सञ्चालन गर्दै आएको प्रतिष्ठानले अब चिकित्सा शास्त्र स्नातक तहको पठन पाठन सुरू गरेको हो ।

प्रादेशिक अस्पतालको हाता भित्र अब चिकित्सा शास्त्र तर्फ स्नातकतह एमबीबीएसको पठन पाठन सुरू भएको छ । आफ्नै शहरमा सरकारी स्तरमा डाक्टर पढ्न पाएपछि स्थानीय विद्यार्थी निकै खुशी छन् ।

चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० जना विद्यार्थी पठन पाठन गराउन यसै शैक्षिक सत्रबाट अनुमति दिएको हो । चिकित्सा शास्त्रमा महंगो र लामो अवधिको पढाइ एमबीबीएस अध्ययनका लागि ३८ जना पूर्ण छात्रवृत्तिमा छन् भने ११ जना नेपाली विद्यार्थीले ५ वर्ष भित्र प्रतिष्ठानलाई जनही ४५ लाख ९० हजार बुझाउनु पर्नेछ । यहाँ भर्ना भएका एक जना भारतीय विद्यार्थीले ४५ लाख ९० हजार भारतीय रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।

‘उता नीजि स्तरमा अध्ययनका लागि धेरै महंगो छ यहाँ सरकारी तवरबाट सञ्चालन भएकाले धेरै सस्तो छ । जनकपुर नेपाल र भारतका लागि पनि उपयुक्त स्थान भएकाले यहाँ अध्ययनका लागि आएको हो,’ भारत नयाँदिल्लीका विद्यार्थी देवांश यादवले भन्नुभयो ।

आधारभूत चिकित्सा विज्ञान अन्तर्गत यहाँ एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, प्याथोलोजी, फर्माकलोजी र क्म्युनिटी मेडिसिन विषयमा अध्यापन गराइन्छ । क्लिनिकल अध्ययनका लागि प्रादेशिक अस्पतालको पूर्वाधारको स्तरोन्नति, थप उपकरण सहित विशिष्टीकृत ल्याब सञ्चालन, विभिन्न विभागका लागि जननशक्ति व्यवस्थापन, कक्षाकोठा र छात्रावास लगायतका व्यवस्था प्रतिष्ठानले मिलाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधामका रजिष्टार डा. विनोद यादवले बबताउनु भयो ।

मधेश प्रदेशमा सरकारी स्तरमा एमबीबीएसको पठन पाठन हुने प्रतिष्ठान पहिलो शैक्षिक संस्था बनेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भन्नुभयो ।

प्रतिष्ठानमा एमबीबीएस पठन पाठन सुरू भएपछि चिकित्सा सेवामा सुधार, चिकित्सकको वृत्तिविकासमा टेवा, चिकित्सा शास्त्रको अध्ययन अनुसन्धानमा तीव्रता र जनकपुरधामको शैक्षिक छविमा सकरात्मक परिवर्तन आउने विश्वास गरिएको छ । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।