काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिको जिम्मेवारी तोक्नका लागि सरकारले गठन गरेको कार्यदलले थप ७ दिनको म्याद राख्दै पुनः दर्खास्त माग गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको पदावधि सकिएपछि केयूका रजिस्ट्रार प्रा.डा. अच्युत वाग्लेलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ माघ ७ गतेको निर्णय अनुसार वाग्लेलाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो ।
केयूको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेकोमा ओलीले नै पुनः स्कुल अफ साइन्सका डिनले समेत दर्खास्त दिन मिल्ने गरी कार्यदलले माग गर्न निर्देशन भए पश्चात् माघ १८ गते कार्यदलले ७ दिनका लागि पुनः दर्खास्त माग गरेको हो ।
यता, आवेदकमध्येका दुई जना संस्थापक उपकुलपति सुरेशराज शर्माका आफन्त नै रहेपछि सरकारले उपकुलपति नियुक्ति गर्न्न गठन गरेको समिति नै विवादमा मुछिएको छ । सरकारले गठन गरेको समितिले उपकुलपति बन्नका लागि मागेको आह्वानबाट यस अगावै १६ जनाले उपकुलपति बन्नका लागि आवेदन दिएका थिए ।
अब थपिएको मितिमा कतिको दर्खास्त पर्छ त्यो पश्चात् मात्र कार्यदलले उपकुलपति सिफारिस गर्नेछ ।