काठमाडौं । क्याम्पस प्रमुखमा नियुक्तिका लागि भनसुन, दौडधूप र हानथाप नेपाली प्राज्ञिक क्षेत्रका लागि नौलो होइन । तर, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको प्रिन्सिपल हुन कसैले रुचि नदेखाउनुले भने सबैलाई आश्चर्यमा पारेको छ ।
प्रिन्सिपलका लागि सूचना प्रकाशित गरिएकोमा दुई जनाको मात्र आवेदन परेपछि छनोट समितिले फेरि अर्को सूचना निकाल्यो । तर विश्वविद्यालयका पदाधिकारीको दबाबमा भोलिपल्टै सूचना रद्द गरिएपछि फेरि अर्को शंका उत्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका ३३ वटा विभागमा प्राध्यापक, सहप्राध्यापक र लेक्चरर गरी ३५० भन्दा बढी शिक्षक कार्यरत छन् । ६ हजार विद्यार्थी अध्ययनरत यो क्याम्पसको प्रमुख पद अर्थात् प्रिन्सिपलका लागि गत पुस २८ गते १० दिनको समय दिएर सूचना निकालियो । अक्कलदेव मिश्र र उद्धव सिग्देल २ जनाको मात्र आवेदन परेपछि छनोट समितिले पर्याप्त आवेदन नपरेको भन्दै माघ ७ गते अर्को सूचना त निकाल्यो । तर विश्वविद्यालयका पदाधिकारीको दबाबमा उक्त सूचना रद्द गरिएको छ ।
केन्द्रीय क्याम्पसमा पछिल्ला ४ वर्षमा ९ महिनाभन्दा बढी समय तालाबन्दी भयो । अहिले पनि प्रिन्सिपलको कार्यकक्षमा विभिन्न विद्यार्थी संगठनले मंसिर २५ देखि तालाबन्दी गर्दै आएका छन् । प्राज्ञिक क्षेत्रमा हुने बढ्दो राजनीतिकरण अनि शिक्षक, विद्यार्थी, कर्मचारी र स्थानीयको पटक-पटकको दबाबकै कारण क्याम्पस प्रमुख बन्न विश्वविद्यालयका प्राध्यापकहरु अग्रसर नभएको हुनसक्ने प्राध्यापकहरुको बुझाइ छ ।
विश्वविद्यालयका पदाधिकारीदेखि डीन, निर्देशक तथा क्याम्पस प्रमुख बन्नका लागि प्राज्ञहरूको हानथाप हुने गर्छ । तर केन्द्रीय क्याम्पसमा पर्याप्त निवेदन नपर्नु विडम्बना हो । न्यूनतम ३ जनाको नाम सिफारिस गर्ने मापदण्ड बनाए पनि पदाधिकारीको दबाबमा छनोट समितिले दोस्रो सूचना रद्ध गरी पहिले आवेदन दिएका २ जनामध्येबाटै नियुक्ति गर्ने तयारी गरेको छ ।