कानून परिवर्तन गरेर भए पनि त्रिभूवन विश्वविद्यालय सुधार्ने हो : शिक्षामन्त्री भट्टराई

पुस २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कानून परिवर्तन गरेर भए पनि त्रिभूवन विश्वविद्यालय सुधार्ने हो : शिक्षामन्त्री भट्टराई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेरै भएपनि त्रिभूवन विश्वविद्यालयको सुधार गर्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) को साक्षात्कारमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै विश्वविद्यालयहरु सुधार गर्न आवश्यक भएपनि सबैभन्दा पहिले त्रिभूवन विश्वविद्यालयको सुधार गर्नुपर्ने बताउनु भयो ।

उहाँले विश्वविद्यालयहरुमा देखिएका समस्याहरु समाधान गर्न सबैभन्दा ठूलो भुमिका पदाधिकारीहरुले खेल्नुपर्ने बताउनु भयो । विश्वविद्यालयका पदाधिकारीहरु राजनीतिक विचारसँग आवद्ध भएकोले नेतृत्त्वदायी भुमिका खेल्न नसकेको उहाँको बुझाई छ । ‘म के भन्छु भन्दा सबै विश्वविद्यालय सुधार्ने हो । तर सबैभन्दा पहिला त्रिभूवन विश्वविद्यालय सुधार्ने हो । त्यसको लागि कानूनमा भएका कुराहरुलाई परिवर्तन गरेर भएपनि सुधार्ने हो । त्यसको लागि पदाधिकारीहरुलाई मैले कति सहयोग गर्नुपर्छ ? मैले आजसम्म १०० प्रतिशत भन्दिन ६० प्रतिशत सहयोग गरेको छु,’ शिक्षामन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले राजनीतिले मात्र पद निर्माण गर्छ भन्ने विचारको विकास गरिएका कारण राजनीतिक हिसाबले नजोडिए पदीय जिम्मेवारी सम्हाल्न नसक्ने विश्वविद्यालयका पदाधिकारीहरुको बुझाई रहेको बताउनु भयो । उहाँले विश्वविद्यालयको सुधारको लागि सबैको सहयोग र सहकार्यको आवश्यक्ता रहेको बताउनु भयो । उहाँले अनुदान आयोगलाई विश्वविद्यालयसँग सम्पर्क र समन्वय गर्नेसंस्थाको रुपमा विकास गरेको दाबी गर्नुभयो । आफू मन्त्री भइसकेपछि विश्वविद्यालयको सुधारका लागि आयोगसँग पटक पटक छलफल राखेको बताउनु भयो ।

विश्वविद्यलयको सुधारका लागि सहयोग गर्न सरकार सधैं तत्पर रहेको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement