प्रतिबद्धता विपरीत शैक्षिक क्यालेन्डर कार्यान्वयन उल्लंघन गर्दै विश्वविद्यालयहरू

पुस २१, २०८१ |नारायण किलम्बू
प्रतिबद्धता विपरीत शैक्षिक क्यालेन्डर कार्यान्वयन उल्लंघन गर्दै विश्वविद्यालयहरू

काठमाडौं । उच्च शिक्षामा शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि विश्वविद्यालयहरूले क्यालेन्डरको उल्लंघन गरेका छन् । स्नातक तहमा भदौमा भर्ना प्रक्रिया सुरू गरी मंसिरदेखि पठनपाठन थाल्ने भने पनि त्रिवि सहित केही विश्वविद्यालयहरूले अहिलेसम्म भर्ना लिइरहेका छन् । यसले बेथिति बढाएको भन्दै शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले अनुदान रोक्ने चेतावनी दिएका छन् ।

सबै विश्वविद्यालयले यस वर्षदेखि शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । कक्षा १२ को नतिजा लगत्तै भदौमा भर्ना प्रक्रिया सुरू गर्ने प्रतिबद्धता अनुसार विश्वविद्यालयहरूले क्यालेन्डर पनि सार्वजनिक गरे । मंसिरदेखि स्नातक तहको पठनपाठन थाल्ने भने पनि त्रिभुवन, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान सहित केही विश्वविद्यालयले क्यालेन्डर उल्लंघन गरी अहिलेसम्म पनि भर्ना लिइरहेका छन् ।

विश्वविद्यालयहरूले जुनसुकै समयमा भर्ना लिँदा परीक्षा र नतिजा प्रकाशनमा अन्योल हुँदै आएको छ । यसले एउटै तह उत्तीर्ण गर्न पनि विद्यार्थीलाई लामो समय लाग्ने र समय खेर जाने गरेको थियो । जसले गर्दा विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि विदेशिन बाध्य भएका थिए । यस्तो अवस्था रोक्न सरकार, विज्ञ र विश्वविद्यालयका उपकुलपतिहरूबीच छलफल भएर शैक्षिक क्यालेन्डर लागू गर्ने निर्णय भएको थियो । तर कार्यान्वय नहुँदा पुरानै प्रवृत्ति दोहोरिएको हो ।

शिक्षा मन्त्रालय र नियामक निकाय विश्वविद्यालय अनुदान आयोगले समयमै भर्ना, पठनपाठन, परीक्षा र नतिजा सहितको शैक्षिक क्यालेन्डर कार्यान्वयन नगर्ने विश्वविद्यालयलाई अनुदान बजेट रोक्ने चेतावनी दिएका छन् ।

विश्वविद्यालयपिच्छेका फरक शैक्षिक क्यालेन्डरले प्रवेश परीक्षा, भर्नादेखि परीक्षासम्ममा एकरूपता नहुँदा विद्यार्थी समस्यामा पर्ने गरेका छन् । तर विश्वविद्यालयहरूले सहमति कायम गरेर लागू गर्ने प्रतिबद्धता जनाएको शैक्षिक क्यालेन्डर फेरि लथालिंग हुँदा त्यसको मार विद्यार्थीले नै खेप्नुपरेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement