काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।
उहाँले विश्वविद्यालयभित्रको दलीय प्रभाव र दबाबलाई अन्त्य गर्नेगरी विधेयक ल्याउनुपर्ने बताउनु भयो । मन्त्री भट्टराईले अब विश्वविद्यालय कस्तो हुने ? भन्ने किसिमको निर्धारण हुनेगरी विधेयक बनाउनुपर्ने बताउनु भयो ।
उहाँले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्नुपर्ने गरी ऐन ल्याउनुपर्ने बताउनु भयो । अहिलेको ड्राफ्टमा नआएको भएपनि समितिले छलफल गरेर अघि बढाउनसक्ने बताउनु भयो । ‘अब विश्वविद्यालय कस्तो हुने ? त्यहाँ हुने जस्ता खालका गतिविधिहरु छन्, खासगरी म त त्यसलाई राजनीतिक भन्दिन, अराजनीतिक गतिविधिहरु छन्, त्यो अराजनीतिक गतिविधिलाई अन्त्य गर्ने हो भने विश्वविद्यालयको स्टाटस के हो त ? कस्तो हुनुपर्छ भन्नेकुरा यो ऐनमा व्याख्या गरौँ । जुन कुरा यो ड्राफ्टमा आएको छैन । त्यसको लागि समितिलाई म अनुरोध गर्न चाहन्छु’,उहाँले भन्नुभयो ।
मन्त्री भट्टराईले विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधिहरुको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।