विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म ?

पुस १८, २०८१ |नारायण किलम्बू
विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म ?

काठमाडौं । उच्चशिक्षा अध्ययन अध्यापन हुने विश्वविद्यालयहरु शिक्षक, विद्यार्थी र कर्मचारीका आन्दोलन र तालाबन्दीले थिलथिलो बनेका छन् । आन्दोलनका कारण विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक कार्यक्रम नै प्रभावित भइरहेका छन् भने नवनियुक्त उपकुलपतिले नै पदभार ग्रहण गर्न पाएका छैनन् । विज्ञहरुले विश्वविद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्न र तालाबन्दीको संस्कृतिविरुद्ध सरकारले कठोर नीति ल्याउनसमेत माग गरेका छन् ।

एक साताअघि नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपति नियुक्त हुनु भएका प्राध्यापक धनेश्वर नेपालले पद सम्हाल्न पाउनु भएको छैन । कारण हो- दाङस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनले गरेको तालाबन्दी । विश्वविद्यालयमा गरिएको कर्मचारी भर्ना प्रक्रिया रोक्नुपर्ने र आर्थिक अनियमितताका विषयमा छानबिन गर्नुपर्ने लगायतका माग राखेर विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा पनि उही हालत छ । विश्वविद्यालयको रजिष्ट्रार कार्यालयको प्रशासन महाशाखा, प्रिन्सिपल कार्यालय र स्ववियुमा लगाइएको तालाबन्दी महिनादिन नाघिसकेको छ । करारका कर्मचारीहरु स्थायी गर्नुपर्नेलगायतका माग राखी काम नै ठप्प पारी आन्दोलनमा उत्रिएका छन् भने विपक्षी दल निकट विद्यार्थी संघसंगठनहरु धर्ना र तालाबन्दीमा उत्रिएपछि शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक काम नै प्रभावित बनेका छन् ।

विश्वविद्यालय केन्द्रीय क्याम्पसमा लगाइएको तालाबन्दीका कारण ४० वटा विभागका ३ सय कर्मचारी र ५ सय शिक्षक प्रभावित भएका छन् भने महिनौंदेखिको तलबभत्ता रोकिएको छ ।

काठमाडौं विश्वविद्यालयको परीक्षा शाखामा पनि तालाबन्दी छ भने कृषि तथा वन विज्ञान विश्वविद्यालयको तालाबन्दी भने हालै खोलिएको छ । अन्य विश्वविद्यालय पनि कुनै न कुनै रुपमा तालाबन्दीबाट आक्रान्त छन् । तालाबन्दी र आन्दोलनले मुलुककै सिंगो प्राज्ञिक क्षेत्र अराजकतातर्फ गइरहेको भन्दै उपकुलपतिहरुले विश्वविद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्न र तालाबन्दीमुक्त गर्ने वातावरण बनाउन सरकार र राजनीतिक दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।

शिक्षामन्त्री विद्या भट्टराई भने तालाबन्दी गर्नेलाई अब विश्वविद्यालयले दण्डित गर्नेुपर्ने बताउनुहुन्छ । यसै त विश्वविद्यालयहरु राजनीतिक हस्तक्षेपले थिलथिलो बन्दै गएका छन् त्यसमाथि शिक्षक कर्मचारी र विद्यार्थीका आ-आफ्नै स्वार्थका आन्दोलनले प्राज्ञिक संस्थाहरुमा झन् अराजकता मौलाउँदै जान थालेको छ ।  


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement