गणित र विज्ञान गाह्रो विषय होइनन् भन्ने सन्देश दिन शैक्षिक प्रदर्शनी

पुस १०, २०८१ |नारायण किलम्बू
गणित र विज्ञान गाह्रो विषय होइनन् भन्ने सन्देश दिन शैक्षिक प्रदर्शनी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा धेरै विद्यार्थी विज्ञान र गणितमा फेल हुने गरेका छन् । विद्यालयले सैद्धान्तिक ज्ञान मात्र दिने तर प्रयोगात्मक अभ्यासमा जोड नदिने गर्दा विद्यार्थीहरू पनि यी विषयलाई गाह्रो मान्ने गरेका छन् । प्रयोगात्मक अभ्यास सहित सैद्धान्तिक ज्ञान दिन सके यी विषय गाह्रा छैनन् भन्ने सन्देश दिन ललितपुरको गोदावरी नगरपालिकाले विज्ञान र गणित विषयको शैक्षिक प्रदर्शनी आयोजना गरेको छ ।

विषय शिक्षकको अभावमा गणित र विज्ञान विषयमा एसईईमा धेरै विद्यार्थी फेल हुने गरेका छन् । तर विद्यालयहरूले यी विषयमा सैद्धान्तिक ज्ञान मात्र दिने गरेका छन् । धेरैजसो विद्यालयमा त गणितको प्रयोगशाला नै छैन भने विज्ञान प्रयोगशाला भएकाले पनि अभ्यास गराउने गरेका छैनन् । जसले गर्दा यी विषय विद्यार्थीका लागि अप्ठेरो मानिन्छन् । प्रयोगात्मक अभ्यास सहितको ज्ञान दिन सके गाह्रो छैन र धैर विद्यार्थी पनि पास हुन सक्छन् भन्ने सन्देश दिन गोदावरी नगरपालिकाले नगरभरिका विद्यालयको सहभागितामा प्रयोगात्मक गणित र विज्ञान शैक्षिक प्रदर्शनी आयोजना गरेको हो ।

शैक्षिक प्रदर्शनीमा नगरक्षेत्रका २० वटा सामुदायिक सहित ६२ वटा विद्यालयका विद्यार्थीहरूले तयार पारेका गणित तथा विज्ञानका विभिन्न विधा प्रदर्शनीमा राखिएका छन् । गणित र विज्ञानलाई व्यावहारिक रूपमा अभ्यास सहित शिक्षा दिन सके यी विषय गाह्रो नहुने शिक्षक तथा विद्यार्थीको बुझाइ छ ।

२०८० को एसईईमा सबैभन्दा धेरै विद्यार्थी गणित र विज्ञानमा फेल भएका छन् । गणितमा एक लाख ७७ हजार ८५ र विज्ञानमा एक लाख २६ हजार विद्यार्थी फेल भएका छन् । त्यसैले सरकार र स्थानीय तहले विषयगत शिक्षकको व्यवस्था गरी प्रयोगात्मक अभ्यास सहित शिक्षा दिन सके यी विषयमा विद्यार्थीले राम्रो नतिजा ल्याउन सक्छन् र सरकारले शिक्षामा गरेको लगानीको प्रतिफल पनि राम्रो हुन सक्नेछ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement