राजनीतिक भागबन्डा नमिल्दा त्रिविमा पाँच महिनादेखि रोकियो डीन नियुक्ति

मंसिर २०, २०८१ |नारायण किलम्बू
राजनीतिक भागबन्डा नमिल्दा त्रिविमा पाँच महिनादेखि रोकियो डीन नियुक्ति

काठमाडौं । शिक्षामा राजनीतिक नगर्ने र शैक्षिक नियुक्तिमा भागबन्डा गर्न नहुने भनेर भाषण गरेर नथाक्ने राजनीतिक दलका नेताहरूले भाग खोजेकै कारण त्रिभुवन विश्वविद्यालयमा डीन र क्याम्पस प्रमुखहरू रिक्त भएको पाँच महिना बित्दा पनि नियुक्ति हुन सकेको छैन । नियामक विश्वविद्यालय अनुदान आयोगले भागबन्डा नभई प्राज्ञिक व्यक्तिलाई नियुक्त गर्न आग्रह गर्दै आए पनि राजनीतिक दलहरूले भागबन्डाकै लागि दबाब दिइरहेका छन् ।

शिक्षा क्षेत्र किन लथालिंग भयो भन्ने गतिलो उदाहरण त्रिविमा हुने नियुक्तिको चलखेल पनि हो । इन्जिनीयरिङ अध्ययन संस्थानमा डीन रिक्त भएको पाँच महिना भइसकेको छ । अध्ययन संस्थान र संकायमा डीन नियुक्तिका लागि गठित सिफारिस समितिले डीनका लागि तीन जनाको नाम सिफारिस गरेको पनि महिनौं भइसक्यो । तर, नियुक्ति प्रक्रिया अघि बढ्न नसक्दा संस्थानमा शैक्षिक उन्नयनदेखि प्रशासनिक क्षेत्रसम्मै गम्भीर समस्या उत्पन्न भएको छ । लामो समयदेखि डीन नियुक्त हुन नसक्दा शैक्षिक उन्नयनदेखि दीघकालीन निणर्यमा समस्या परेका छन् ।

इन्जिनीयरिङ मात्र होइन चिकित्साशास्त्र, कृषि, वन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान र तीन वटा संकाय शिक्षा, मानविकी र व्यवस्थापनमा पनि डीन रिक्त छन् । दुई वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, चार जना सहनियन्त्रक र डेढ दर्जन क्याम्पस प्रमुख तथा सहायक क्याम्पस प्रमुखहरू रिक्त भएको पनि पाँच महिना बितिसकेको छ ।

त्रिविले अध्ययन संस्थान र संकायहरूमा डीन नियुक्तिका लागि गठन गरेको सिफारिस समितिले डीनका लागि तीन-तीन जना नाम बुझाएको पनि धेरै भइसक्यो । तर, राजनीतिक भागबन्डा नमिल्दा कतै पनि नियुक्ति प्रक्रिया अघि बढेको छैन । राजनीतिक दबाबको बहानामा नियुक्तिमा ढिलाइ हुनु दुःखद् रहेको विज्ञहरूको बझाइ छ ।

विश्वविद्यालयहरूको नियामक निकाय विश्वविद्यालय अनुदान आयोगले पनि भागबन्डाका आधारमा नभई क्षमतावान् प्राज्ञिक व्यक्ति नियुक्तिका लागि दबाब दिइरहेको छ ।

त्यसो त उपकुलपति केशरजंग बरालले डीन र क्याम्पस प्रमुख नियुक्तका लागि सिफारिस समितिहरूबाट सबै नामावली प्राप्त भइनसकेकोले ढिलो भएको स्वीकार गर्नु भएको छ । सरकार र राजनीतिक दलहरूबाट हस्तक्षेप नभएको भन्दै उहाँले भागबन्डाको आधारमा नभई मेरिटोक्रेसीकै आधारमा डीन र क्याम्पस प्रमुखहरू नियुक्त गर्ने बताउनु भयो ।

भाषणमा राजनीतिक भागबन्डाको विरोध गर्ने र मेरिटोक्रेसीको नारा दिने दलहरूले आफ्ना मान्छे नियुक्तिका लागि प्रतिस्पर्धा गर्नु दुःखद् हो । यसले त्रिविको प्राज्ञिक छविलाई गिराउनेछ । यसतर्फ राजनीतिक दलदेखि विश्वविद्यालयको नेतृत्वसम्मले गम्भीर भएर सोच्नु पर्ने देखिन्छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement