सरकारी छात्रवृत्तिमा विद्यावारिधि गर्न विदेश गएका त्रिविका ५३ शिक्षक उतै पलायन

सेवाको कबुल भुलेर पठाए राजीनामा पत्र
मंसिर १३, २०८१ |नारायण किलम्बू
सरकारी छात्रवृत्तिमा विद्यावारिधि गर्न विदेश गएका त्रिविका ५३ शिक्षक उतै पलायन

काठमाडौं । शिक्षकहरु विद्यार्थीलाई नैतिकता, अनुशासनको पाठ सिकाउँछन् । तर, शिक्षकहरुले नै नैतिकता भुले भने ? त्रिभुवन विश्वविद्यालयमा यही भइरहेको छ । त्रिविका स्थायी शिक्षकहरु वृत्ति विकासका लागि छात्रवृत्तिमा विद्यावारिधि अध्ययन गर्न विदेश जान्छन्, फर्किएर सेवा दिने कबुल पनि गरेका हुन्छन् । तर, नैतिकता र अनुशासन भुल्दै उनीहरु विदेशमै पलायन हुन्छन् । अर्थात् फर्किँदैनन् । कति छन् त यस्ता शिक्षक त्रिविमा ?

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, विभाग, अनुसन्धान केन्द्र र आंगिक क्याम्पसमा अध्यापनरत शिक्षकहरु वृत्ति विकासका लागि छात्रवृत्तिमा एमफिल तथा विद्यावारिधि अध्ययनका लागि विदेशिने तर उतै पलायन हुने क्रम रोकिएको छैन । त्रिविका अनुसार २०७१ देखि २०८१ सम्मको दश वर्षमा ९ सय ४६ शिक्षकहरु छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका तथा युरोपेली मुलुकहरुमा गएका छन् ।

अझ चिकित्सा शास्त्र तथा इन्जिनियरिङ अध्ययन संस्थान र १० वटा आंगिक क्याम्पसको त त्रिविसँग विवरण नै छैन । तीमध्ये ५३ शिक्षकहरु अध्ययन पुरा गरे पनि स्वदेश फर्किएका छैनन् । विदेशमा अध्ययन पूरा गरी स्वदेश फर्किएर सेवा दिने सर्तसहित कबुलियतनामा गरे पनि शिक्षकहरु उतै पलायन हुनुले नैतिकतामाथि नै गम्भीर प्रश्न उब्जिएको प्राध्यापकहरु बताउँछन् ।

शिक्षकहरुले जतिवर्ष अध्ययन बिदा लिएको हो, त्यति नै समय विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था त्रिविमा छ । तर पनि शिक्षकहरुले आफूले गरेका कबुल भुलेर सेवाको सट्टा राजीनामा पत्र पठाउने गरेको पाइन्छ । त्यसो त विश्वविद्यालयले यस्ता शिक्षकलाई कारबाही नगरेको पनि होइन । 

अध्ययन बिदा सकेपछि नफर्किने शिक्षकलाई खाइपाई आएको तलबभत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने कानुनी प्रावधान छ । यस्तो अनुशासनहीन काम गर्नेहरुलाई तलब असुल उपरदेखि बर्खास्तसम्मका कारबाही गरिएको विश्वविद्यालयले जनाएको छ ।

उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पढाउने गुरुहरुले नै नियम कानुन र नैतिकता पालना नगर्नु दुःखद् भएको विज्ञहरुको भनाइ छ । विश्वविद्यालय र राज्यले वृत्ति विकासमा सहयोग गर्ने तर विदेशमै पलायन हुनु विश्वविद्यालयमात्र नभई राष्ट्रमाथि कै घात भएको उनीहरु बताउँछन् । शिक्षकहरु छात्रवृत्तिमा अध्ययनका लागि विदेश जाने, तर नफर्कने प्रवृत्ति रोक्न विश्वविद्यालय र सरकारले कडाइ गर्नुपर्छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement