भक्तपुरको श्री पद्म माध्यामिक विद्यालयले मनायो १०१औं वार्षिक उत्सव

मंसिर ८, २०८१ |सुन्दर शिल्पकार
भक्तपुरको श्री पद्म माध्यामिक विद्यालयले मनायो १०१औं वार्षिक उत्सव

भक्तपुर । भक्तपुर दरबार क्षेत्र स्थित श्री पद्म माध्यामिक विद्यालयले १ सय वर्ष पूरा गरेको छ ।

आज एक कार्यक्रम गरि विद्यालयले आफ्नो १०१औं वार्षिक उत्सव तथा पद्म कलेजको १५औं वर्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बताउनु भयो ।

विक्रम संवत १९८१ सालमा मास्टर जगत बहादुर अमात्य र पण्डित शिवप्रसाद मिश्रले भक्तपुरको क्वाठण्डौमा भाडगाँउ इड्लिश स्कुल नामले संचालन भई कक्षा २ सम्मको पढाइ हुने गरेको थियो । पछि पद्म शम्शेर राणाले विसं २००३ सालमा दरबार क्षेत्रमा पद्म हाई स्कुल नामले संचालनमा गरिएको थियो ।

समारोहमा प्राचार्य राम हाडाले विद्यालयको वार्षिक शैक्षिक र भौतिक र आर्थिक र प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । यो विद्यालय २०७३ सालमै नमुना विद्यालय घोषणा भएको हो । तर पनि २०७२ को भूकम्पले क्षति पुर्‍याएको विद्यालयको मुख्य भवन अझै पुन:निर्माण हुन सकेको छैन ।

श्री पद्मले उज्यालोको शताब्दी पार गरिरहँदा विद्यालयलाई थप अब्बल र असल अभ्यासहरुमा देशकै अग्रस्थान ल्याउनुपर्ने चुनौती छ । विद्यालय ३१ रोपनी १४ आना बढी जग्गा क्षेत्रफलमा फैलिएको छ ।

बागमती प्रदेशबाट भौतिक संरचनाको लागि डिपिआर भएर भवन निर्माणको लागि १६ करोड विनियोजन भएपनि हाल बजेट कार्यान्वयन प्रकृया रोकिएकोले प्रदेश सरकारको तर्फबाट सो बजेट निकासाको प्रकृया अघि बढाइदिन प्राचार्य हाडाले मन्त्री खड्गीसँग आग्रह गर्नुभयो ।

समारोहमा विद्यालयको आधारभूत तहदेखि स्नातक तहसम्मका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने २० वर्षसम्म विद्यालयमा अनवरत सेवा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो । उक्त अवसरमा स्व निरञ्जन नारायण धौभडेल स्मृति पुरस्कारबाट २०८० सालको एसईई परिक्षामा ३.८४ प्रतिशत ल्याएर उत्कृष्ट हुन सफल विद्यार्थी धीरज कुसवाहलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै प्राविधिक धार सिभिल इन्जिनियरिङ तर्फ २०८० सालको एसईई परीक्षामा ३.९८ प्रतिशत ल्याएर उत्कृष्ट हुन सफल विद्यार्थी कैस्तुभ थापालाई चन्द्रकेशरी प्रधानाङ्ग नामक छात्रवृति कोषबाट नगद रु २० हजार सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कराते, तेक्वान्दो, फुटबल र भलिबल प्रतियोगिताका विजयी खेलाडी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement