त्रिभुवन विश्वविद्यालयको अचल सम्पत्ति छानबिन गर्न गठित समितिको म्याद दुई महिना थपियो

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन विश्वविद्यालयको अचल सम्पत्ति छानबिन गर्न गठित समितिको म्याद दुई महिना थपियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अचल सम्पत्ति छानबिन र खोजी गर्न गठित समितिको म्याद दुई महिना थप भएको छ । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजक समितिलाई दिइएको तीन महिनाको समयभित्र काम नसकिएपछि समय थप गरिएको हो ।

देशकै जेठो त्रिभुवन विश्वविद्यालयको २ हजारभन्दा बढी रोपनी जग्गामा विभिन्न संघसंस्थाहरुले रजगज गरेको विषयमा कान्तिपुर टेलिभिजनले शृङ्खलाबद्ध समाचार प्रशारण गरेपछि सरकारले ३ महिनाअघि छानबिन समिति गठन गरेको थियो । विश्वविद्यालय परिसरभित्रै नाफामूलक शिक्षण संस्था, खानेपानी कार्यालय, बसपार्कदेखि ठेकेदारलाई भाडामा लगाएर दुरुपयोग भइरहेको छ ।

तर संयोजक त्रिताल नै अस्वस्थ भएपछि समितिले पूर्णरुपमा काम गर्न सकेको थिएन । अब सरकारले महेन्द्रकुमार थापालाई संयोजकको जिम्मेवारी दिएर समितिको म्याद थप गरेको हो । त्यसो त समितिले विश्वविद्यालयको जग्गाको लगत संकलन, संरक्षण, उपभोग, व्यवस्थापनलगायतको अध्ययन गरी प्रतिवेदनको प्रारम्भिक खाका भने बनाएको थियो । विश्वविद्यालयको अचल सम्पति खोजबिन गरी संरक्षण गर्ने प्रतिबद्धता सरकारको छ ।

त्रिविको जग्गा राजनीतिक स्वार्थ र आडमा विभिन्न संघसंस्थालाई समेत बाँडिएको छ । आफ्नो जग्गा फिर्ताका लागि त्रिविले गरेको प्रयाससमेत सफल भएको थिएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement