त्रिवि मातहतकै क्याम्पसमा फरक-फरक शुल्क, लाखौं रुपैयाँ असुल्ने प्रवृत्तिले विद्यार्थी मारमा

भाद्र १८, २०८१ |नारायण किलम्बू
त्रिवि मातहतकै क्याम्पसमा फरक-फरक शुल्क, लाखौं रुपैयाँ असुल्ने प्रवृत्तिले विद्यार्थी मारमा

काठमाडौं । आफ्नो मातहतका क्याम्पसहरुले फरक–फरक शुल्क असुल गरिरहे पनि त्रिभुवन विश्वविद्यालयले अनुगमन गरी एकरुपता कायम गर्न सकेको छैन । विश्वविद्यालयका आंगिक क्याम्पसले विज्ञान तथा प्रविधि विषय अध्ययनका लागि वार्षिक ७ हजार देखि १५ हजार रुपैयाँ लिँदै आएका छन् । तर यही विषय अध्ययनका लागि सामुदायिक र निजी क्याम्पसले लाखौं रुपैयाँ असुल्ने गरेका छन् । यसले विद्यार्थी मारमा परेका छन् ।

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको संख्या ४ हजार छ । क्याम्पसले २०६६ सालदेखि भर्नासहित वार्षिक ७ हजार रुपैयाँमै विज्ञान विषयको स्नातक तहको शिक्षा दिइरहेको छ । विद्यार्थीको चाप पनि बढ्दो छ ।

त्रिचन्द्र जस्ता त्रिविका २१ वटा आंगिक, १७ वटा सामुदायिक र ७७ वटा निजी क्याम्पसमा विज्ञान विषयको अध्ययन अध्यापन हुन्छ । विज्ञानका ३९ वटा विषयमा ४० हजार विद्यार्थी छन् । आंगिकमा विज्ञान विषय पढ्न वार्षिक ७ हजारदेखि १५ हजार शुल्क लाग्छ भने सामुदायिक क्याम्पसले ५० हजार असुल्छन् । अझ निजी क्याम्पसले त २ लाख रुपैयाँ भन्दा बढी लिन्छन् । विश्वविद्यालयले क्याम्पसहरुको नियमन गर्न नसक्दा विद्यार्थीहरु क्याम्पसै पिच्छै फरक फरक शुल्क तिर्न बाध्य छन् ।

त्यसो त सरकारले उच्चशिक्षामा बजेट बढाउन सकेको छैन । त्रिभुवन विश्वविद्यालयले यो वर्ष २२ अर्ब रुपैयाँ माग गरेकोमा ९ अर्ब मात्र पाएको छ । आर्थिक भार बढ्दै जानु तर सरकारले उपलब्ध गराउने बजेट घट्नुले चाहेर पनि नयाँ कार्यक्रम सञ्चालनमा ल्याउन नसकेको विश्वविद्यालयको भनाइ छ ।

आंगिक क्याम्पसहरु प्राध्यापकहरु रिक्त हुँदै जाने तर नयाँ नियुक्ति नहुँदा समस्या जेलिएका छन् । विश्वविद्यालयले क्याम्पसको नियमन गर्न नसक्दा शैक्षिक गुणस्तर पनि खस्किँदै गएको छ । समय सापेक्ष पाठ्यक्रम परिमार्जन गरी क्याम्पसहरुले प्रदान गर्ने शिक्षाको अनुगमन पनि उत्तिकै बढाउनु जरुरी छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement