धनकुटा । प्रविधिको विकास र पठन संस्कृतिमा आएको परिवर्तनले अहिले पुस्तकालयसम्म धाएर लेखपढ गर्ने पाठक पाउनै मुस्किल छ । तर धनकुटाको सिंधुवाका स्थानीयलाई भने पुस्तकालयबाट पाइने ज्ञानको भोक जागेको छ । तरकारीको राजधानी भनेर चिनिने सिंधुवाका युवाको पहलमा बहुआयामिक पुस्तकालय सञ्चालनमा आएको छ । गाउँमै पुस्तकालय खुलेपछि हजुरबादेखि नाती पुस्तासम्मलाई एकै ठाउँमा स्वअध्यनसँगै ज्ञान आर्जनको अवसर मिलेको छ ।
धनकुटा छथरजोरपाटी गाउँपालिका सिंधुवाका बलबहादुर खड्काको मुख्य पेशा खेती किसानी हो । अधिकांश समय तरकारी खेती र वस्तुभाउको स्याहारमा बिताउने ७८ वर्षीय खड्काको पुस्तकालय प्रवेशको यो पहिलो अवसर हो । त्यस्तै ५१ वर्षको भइसक्दा सम्म पनि पुस्तकालयमा पाइला नटेकेका सिंधुवाकै रामबहादुर घिमिरे अहिले काम बाट फुर्सद निकालेरै भए पनि पुस्तकालय पुग्नुहुन्छ । खड्का र घिमिरेजस्तै पुस्तकमा लगाव भएका यो ठाउँका स्थानीय हिजोआज आफ्ना रुचीका पुस्तक पढ्न र नयाँनयाँ कुराको जानकारी हासिल गर्न यो सामुदायिक पुस्तकालय पुग्ने गरेका छन् ।
भर्खरै सञ्चालनमा आएको पुस्तकालयमा पुस्तक र पत्रपत्रिका अध्ययन गर्ने मात्रै नभई तरकारी खेतीको प्रविधि, पशु स्वास्थ्य प्राविधिक सेवा, सहकारी व्ययस्थापन, वित्तीय साक्षरता, उद्यमशीलता, संगीतसम्बन्धी कुराको व्यवहारिक ज्ञानसँगै कम्प्युटर तालिमको निशुल्क अवसर उपलब्ध छ । पुस्तकालयबाट उमेर समूह, रुची, चाहना र आवश्यकताअनुसारको सीप सिक्न पाउँदा स्थानीय दंग छन् ।
भर्खरै सञ्चालनमा आएको पुस्तकालयमा बालबालिका, युवा, महिला, फरक क्षमताका व्यक्ति, बहुप्राविधिक, सूचना तथा सञ्चार प्रविधि, जोखिम न्यूनीकरण, संगितजस्ता छुट्टाछुट्टै विधागत कक्षको व्यवस्था गरिएको छ । पुस्तकालय स्थापनाका लागि जापान सरकारको एसभिए, रीड नेपाल, छथरजोरपाटी गाउँपालिका र स्थानीयको झन्डै साढे तीन करोड रुपैयाँ खर्च भएको छ ।
सातवटा स्थानीय तह भएको धनकुटामा समुदायस्तरमा तीनवटा पुस्तकालय छन् । स्थानीयको पहलमा गाउँमै यो स्तरको सुविधा भएको पुस्तकालय सञ्चालनमा आउँनु सकारात्मक छ । तर पुस्तकालय स्थापना भएर मात्र पुग्दैन यसको भरपुर उपयोग, संरक्षण र दिगोरुपमा सञ्चालन व्यवस्थापन पनि आवश्यक छ ।