‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने : कोशी र मधेसमा भारी वर्षाको सम्भावना

कार्तिक ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘मोन्था’ चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने : कोशी र मधेसमा भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ ।

हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू-भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिनुभयो । यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले नेपालको विशेषगरी कोशी र मधेस प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले बताउनु भयो । 

यसको प्रभाव बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा पनि फैलिनसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार चक्रवातको प्रभाव बिहीबार (कात्तिक १३ गते दिउँसोदेखि १५ गते शनिबारदिउँसो)सम्म रहने पूर्वानुमान छ । उक्त अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले हाल ठूला नदीहरूको बहाव सामान्य अवस्थामा भए पनि चक्रवातका कारण नदीका जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताउनु भयो । बागमती र कोशीजस्ता ठूला नदीमा ठूला बाढी आउने जोखिम रहेको उहाँको भनाइ छ । यद्यपि, नदी सतह सतर्कता तहसम्म पुग्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्क रहन उहाँले आग्रह गर्नुभयो । 

उहाँले मधेस र कोशी प्रदेशका पहाडी तथा चुरे क्षेत्र भएर बग्ने स-साना खोला-नालामा भने तिव्र बहावको सम्भावना रहेको बताउनु भयो । १३ गते रातिदेखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । जल तथा मौसम विभाग प्रवक्ता विभूति पोखरेलले मंगलबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । 

हिमपातको कारण पर्वतारोहण तथा दैनिक जनजीवनमा पनि असर गर्ने उहाँको भनाइ छ । उहाँले पश्चिमी वायु साथै अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले गर्दा मंगलबारको बदली देखिएको बताउनु भयो । बुधबारदेखि विस्तारै यो सुधार हुँदै आउने उहाँको भनाइ छ । बिहीबारबाट भने फेरि चक्रवात ‘मोन्था’ सक्रिय हुने भएकोले नेपालको मौसम प्रभावित हुने उहाँले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.