चिसो बढेसँगै दोलखाका माथिल्ला गाउँका बासिन्दा चौँरीगोठसहित तल्लो क्षेत्रमा झर्न थाले

कार्तिक ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
चिसो बढेसँगै दोलखाका माथिल्ला गाउँका बासिन्दा चौँरीगोठसहित तल्लो क्षेत्रमा झर्न थाले

दोलखा । चिसो बढेपछि दोलखाको उच्च भेगका बासिन्दाले आफूसँगै चौँरीगोठ तलतिर झार्न सुरू गरेका छन् ।

दोलखाको विगु गाउँपालिका-१ लप्चीका स्थानीय जाडो छल्न लुम्नाङ झर्न थालेका हुन् । चौँरी चरनका लागि चीनको तिब्बतका खर्क पुग्ने गरेका उनीहरू माथिल्लो क्षेत्रमा चिसो बढेसँगै लुमनाङ झर्ने गरेका छन् । यो वर्ष असोज अन्तिम साताबाटै चौँरी गोठाला र स्थानीय लुमनाङ झरेको स्थानीय कर्मा वाइसर शेर्पाले बताउनुभयो । 

वैशाखमा याक चौँरी लगेर लप्ची पुगेका स्थानीय ६ महिनापछि लुमनाङमा जाडो छल्न आइपुगेका हुन् । चीनसँग सीमा जोडिएको लप्चीका स्थानीय हिउँदको ६ महिना याक चौरी चरन गर्न लुमनाङ झर्छन् भने बर्खामा लप्ची जाने गरेका छन् । 

हिउँद लागेसँगै चीनको तिब्बतबाट खाद्यन्नलगायतका सामान किनमेल गरेर लुमनाङ झरे स्थानीयले बताएका छन् । यस्तै दोलखाकै विगु, कालिञ्चोक, जिरी, शैलुङको माथिल्लो क्षेत्रको खर्कमा पुगेका चौँरी र भेडीगोठ जाडो छल्ने तलतिर झरेका छन् । 

माथिल्लो क्षेत्रका खर्कहरू हिउँदमा हिउँले ढाक्ने भएकाले गोठसहित गोठालाहरू जाडो छल्न तलतिर झरेका हुन् । हिउँदका लागि चौँरी र भेडाका लागि सबै घाँसपात व्यवस्थापन गरेर तलतिर झार्ने गरिएको छ । वैशाख लागेपछि गोठहरू फेरि माथिल्लाे क्षेत्र उक्लिन्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.