वीरगन्ज । विद्यालयलाई राजनीतिमा घुसाउँदाको परिणाम के हुन्छ भन्ने कुरा– बाराको जितपुर सिमरास्थित नेपाल राष्ट्रिय माविमा देखिएको छ । भौतिक पूर्वाधारसँगै शिक्षण सिकाइको अवस्था अब्बल भएर सरकारले आर्थिक वर्ष २०७५/७६ मा नमुना घोषणा गरेको यो विद्यालय यतिबेला अध्ययन-अध्यापन भन्दा पनि राजनीतिक दलको क्रिडास्थलमा परिणत भएको छ ।
विद्यालयमा कक्षा चलिरहेकै बेला बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको २ स्थित नेपाल राष्ट्रिय मावि परिसरमा प्रहरीको गाडी प्रवेश गर्यो । डीएसपीको कमान्डमा बन्दुक बोकेका सुरक्षाकर्मी बुट बजार्दै प्रधानाध्यापकको कार्यकक्षमा प्रवेश गरे । उक्त दृश्यले विद्यार्थीको मनोविज्ञानमा कस्तो असर पार्यो ? कसैले बुझ्न चाहेनन् । यस्तो दृश्य देखिने परिस्थिति भने विद्यालयमा चलिरहेको राजनीतिक खिचातानीले उत्पन्न गरेको हो ।
गत जेठ १७ गते उपमहानगरपालिकाभित्रका ९५ शिक्षकको दरबन्दी मिलानको निर्णय गरेको नगर शिक्षा समितिले माध्यमिक तहका ११ शिक्षकको सरुवा गर्ने निर्णय गर्यो । सोही निर्णयअनुसार जितपुरसिमरा-७ स्थित फकिरा गिरी माविकी शिक्षिका सीता अधिकारीलाई जीतपुरसिमरा-२ मा रहेको नेपाल राष्ट्रिय माविमा सरुवा गर्यो । तर अधिकारीलाई यो विद्यालयले हाजिरी नै गराउन मानेन ।
निर्णय कार्यान्वयन गर्न नगर प्रमुखले दबाब दिएपछि साउन ६ गतेदेखि हाजिरी गरी नियमित विद्यालय जाने गरेकी उहाँलाई साउन २९ गते वडाध्यक्षले हाजिरी गर्न नदिएर हाजिरीपुस्तिका नै खोसे । यसको जानकारी नगरपालिकामा गराएपछि प्रहरीसहित स्वयं नगरप्रमुख यसरी विद्यालय पुगेका हुन् ।
प्रधानाध्यापकको हातबाट हाजिरीपुस्तिका वडाअध्यक्षले कब्जामा लिएर हाजिरी गर्न नदिएपछि नगर प्रमुख र वडाध्यक्षबीच चलेको घम्साघम्सी लज्जास्पद थियो ।
झन्डै १ हजार २ सय विद्यार्थी अध्ययन गर्ने यो विद्यालयको शैक्षिक अवस्था राम्रो देखेर सरकारले आर्थिक वर्ष २०७५/७६ मा नमुना मावि घोषणा गरी पूर्वाधार सुधारका लागि वार्षिक एक करोड रुपैयाँ दिँदै आएको छ । तर विगतमा ६५ प्रतिशतसम्म नतिजा ल्याउन सफल यो विद्यालयमा बढेको राजनीतिले गत वर्षको एसईईको रिजल्ट २२ प्रतिशतमा झरेको छ ।