जनकपुर बोल्ट्सलाई सम्मान गर्दै प्रधानमन्त्रीले भन्नुभयो- “तपाईंहरू हिरो हो”

पुस ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
जनकपुर बोल्ट्सलाई सम्मान गर्दै प्रधानमन्त्रीले भन्नुभयो- “तपाईंहरू हिरो हो”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने जनकपुरका कप्तान र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई बधाई दिनुभएको हो ।

शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न आग्रह गर्नुभयो ।

“यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपीएलको जित हो । यस खेलमा तपाईंहरूको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्स खेलाडीहरू बधाईका पात्र हुनुहुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “तपाईंहरू हिरो हो । नायक र महानायक हो । म तपाईंहरूको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ, आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।”

आफूले प्रधानमन्त्री बहाली भए लगत्तै कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिको पहिलो निर्णय गरेको र निर्माणका लागि बोलपत्र आह्वान गरिएको सुनाउँदै उहाँले नेपालमा सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका लागि गर्नुपर्ने प्रयास निरन्तर हुने अवगत गराउनुभयो ।

विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झन्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका ठूला खेलाडीलाई श्रम स्वीकृतिमा झन्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गर्नुभएको थियो । जनकपुरका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरूलाई खुशी लागेको प्रतिक्रिया दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement