काठमाडौं । समावेशी शिक्षाको सुनिश्चितता गरे पनि धेरैजसो अपाङ्गता भएकाहरुले विद्यालयमा पढ्न पाएका छैनन् । गरिबी, अशिक्षा लगायतका विविध कारणले विद्यालय उमेर समूहका करिब ७० हजारभन्दा बढी बालबालिका अझै पनि शिक्षाबाट वञ्चित छन् । सरकारी नीति नियम अपाङ्गता र पिछडिएका बालबाकालिकको पक्षमा रहे पनि कार्यान्वयन पक्ष भने फितलो छ ।
सरकारले अपाङ्गता भएका बालबालिकालाई उच्चशिक्षासम्म नि:शुल्क व्यवस्था गरेको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार करिब ७० हजार अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँचमा रहेको देखाए पनि अझै उतिकै संख्यामा बाहिरै छन् ।
त्यसमध्ये पनि बौद्धिक अपाङ्गता, अटिजम र बहिरा लगायतलाई छुट्टै कक्षाकोठा, अध्यापन विधिको आवश्यक भए पनि बन्दोबस्त नहुँदा कतिपय पढ्न चाहेर पनि वञ्चित हुनु परिरहेको छ । सरकारले समावेशी शिक्षाको पहुँच सुनिश्चित गरे पनि त्यस्ता बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनै सकेको छैन ।
अपाङ्गता भएकाहरु उच्चशिक्षामा कतिको पहुँच छ भने तथ्यांक नभए पनि त्रिभुवन विश्वविद्यालयमा एक हजार जना शिक्षा लगायतका विषयमा अध्ययनरत छन् । समावेशी शिक्षाको लागि सरकारले मानव संशाधन, भौतिक पूर्वाधार आर्थिकस्रोतको पर्याप्त मात्रामा व्यवस्था गर्न सकेको छैन ।
समावेशी शिक्षालाई अपेक्षाकृत रूपमा अगाडि बढ्न नसकिरहेको बेला त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायले भने समावेशी शिक्षाबाट वञ्चित भएकाहरुको शिक्षामा पहुँच बढाउन पहिलो पटक अन्तराष्ट्रिय सेमिनार गरी बहस पैरवीको थालनी गरेको छ ।
त्यसो त समावेशी शिक्षामा नेपालले अवलम्बन गरेका नीति नियम दक्षिण एशियामै उल्लेख्य मानिन्छ । सरकारी नीति नियम अपाङ्गता र पिछडिएका बालबाकालिकको पक्षमा रहे पनि कार्यान्वयन पक्ष भने फितलो छ । समावेशी शिक्षाको मुद्धा राजनीतिक दल र सरकारको प्राथमिकता छ । तर कार्यान्वयनमा न दल सजग छन् न सरकारले नै तदारुकता देखाएको छ ।