महोत्तरी । महोत्तरीको जलेश्वर कारागारका एक जना कैदीको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-७ का ३० वर्षीय निसाज सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सुनुवारलाई ६ महिनाअघि जिल्ला अदालत महोत्तरीले लागूऔषध ब्राउनसुगर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो । कारागारका अनुसार आइतबार बिहान ८ बजे सुनुवारलाई असहज भएपछि जलेश्वर अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा उनको ज्यान गएको जलेश्वर कारागार महोत्तरीका प्रवक्ता रविनचन्द्र ठाकुरले जानकारी दिनुभयो । मृत्युको कारण हृदयघात भएको ठाकुरले बताउनुभयो ।
सुनुवारको शव अहिले प्रादेशिक अस्पताल जलेश्वरमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनको पोस्टमोर्टम गरी परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तु जैसवारले जानकारी दिनुभयो ।