अस्ट्रेलियामा सञ्चालित नेपाली भाषा कक्षामा आकर्षण बढ्दो

आफ्ना छोराछोरीले भाषा, कला, संस्कृति सिक्न थालेकोमा नेपाली मूलका अभिभावक दङ्ग
श्रावण ३१, २०८१ |कञ्चन अर्याल
अस्ट्रेलियामा सञ्चालित नेपाली भाषा कक्षामा आकर्षण बढ्दो

अस्ट्रेलिया । पछिल्लो तथ्यांकअनुसार अस्ट्रेलियामा स्थायी बसोबास गर्ने नेपालीको सङ्ख्या साढे १ लाख नाघेको छ । हरेक वर्ष स्थायी बसोबास गर्ने नेपाली बढ्दै जाँदा बालबालिकाको संख्या पनि बढ्दो छ । त्यहीँ जन्मेहुर्केका बालबालिकालाई नेपाली भाषा, कला र संस्कृति सिकाउने चुनौतीका बीच अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली भाषा कक्षा सञ्चालन भएका छन् ।

हरेक आइतबार तासमानियाको होबार्टमा बिहान ११ बजे राष्ट्रियगानसहित पाठशालामा नेपाली भाषाको कक्षा सुरु हुन्छ । तासमानियाको अर्को सहर लन्सेस्टनमा पनि बालबालिकाहरू शनिबार बिहान १० बजे नेपाली भाषा अध्ययनका लागि भाषालय पुग्छन् । अस्ट्रेलियामा पहिलोपटक सन् २०११ मा न्युसाउथ वेल्स राज्यको सिड्नीमा नेपाली भाषा कक्षा सुरु गरियो । त्यसयता अस्ट्रेलियाभर अर्थात ६ राज्य र २ वटा टेरिटोरीमा सप्ताहान्तमा नेपाली भाषा पढाइ हुने गरेको छ ।

यतै जन्मिएका तथा नेपालबाट सानैमा अस्ट्रेलिया आएका बालबालिकालाई नेपाली भाषा, कला संस्कृति, चाडपर्व तथा रहनसहनबारे ज्ञान दिने उद्देश्य छ, भाषा कक्षाको । भाषालय, पाठशाला, शब्दमालालगायतका नाममा यस्ता कक्षा सञ्चालित छन् । शिक्षण विधि सबै राज्य र टेरिटोरीमा उस्तैउस्तै भए पनि पाठ्यक्रम भने फरक छ । सामान्यतया कक्षा कोठमा बाल गीत, नेपाली कथा र खेलमार्फत पढाउने गरिन्छ ।

भाषा कक्षाहरू स्थानीय नेपाली संघसंस्थाको आर्थिक सहयोगमा सञ्चालित छन् । केहीले विद्यार्थीबाट न्यून मात्रामा शुल्क पनि लिने गरेका छन् । केहीले अस्ट्रेलियन सरकारको सहयोग पनि पाएका छन् । भाषालयका शिक्षक-शिक्षिका तथा अन्य कर्मचारी स्वंमसेवक हुन् ।

भाषालय चलाउन आर्थिक चुनौती भए पनि आफ्ना छोराछोरीले नेपाली भाषा सिक्न थालेकोमा भने अभिभावहरू मख्ख छन् । हुन पनि अंग्रेजी भाषा बोल्न सहज मान्ने आफ्ना छोराछोरीले नेपालीमा सञ्चार गर्न थालेपछि कुनचाहिँ अभिभावकको मन नरमाउला र

गैरनाफामूलक यस्ता भाषालयले अस्ट्रेलियामा जन्मिएका तथा हुर्किएका नेपाली बालबालिकालाई थोरै भए पनि नेपाली अक्षर लेख्न र बोल्न सक्ने बनाएका त छन् नै नेपालबाट नातिनातिना भेट्न गएका हजुरबुबाआमासँग संवाद गर्न पनि केही सहज भएको छ । 


Image

कञ्चन अर्याल

अर्याल कान्तिपुर टेलिभिजनको अस्ट्रेलिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement