कक्षा १२ पनि पूरा नगरि स्नातक तहमा पढ्दै...

श्रावण ९, २०८१ |नारायण किलम्बू
कक्षा १२ पनि पूरा नगरि स्नातक तहमा पढ्दै...

काठमाडौं । स्नातक तह अध्ययन गर्न कक्षा १२ उत्तीर्ण हुनुपर्छ । तर, तपाईंलाई अचम्म लाग्ला, नेपालको एउटा विश्वविद्यालयले औपचारिक शिक्षा नलिएकालाई पनि स्नातक तहमा भर्ना लिएर अध्यापन गराइरहेको छ । नेपालको संघीय विश्वविद्यालयको रूपमा रहेको लुम्बिनी विश्वविद्यालयले यसरी पठनपाठन गराइरहेको हो । कानुन विपरीत भइरहेको यस्तो पठनपाठनप्रति भने नियामक विश्वविद्यालय अनुदान आयोगले अहिलेसम्म आँखा चिम्लँदै आएको छ । 

विश्वविद्यालयको उच्चशिक्षा अध्ययनका लागि कक्षा १२ वा सो सरहको शिक्षा पूरा गरेको हुनुपर्छ । तर, लुम्बिनी बौद्ध विश्वविद्यालयमा औपचारिक शिक्षा नै नलिएकाहरूले समेत ४ वर्षे स्नातक तहमा भर्ना भई अध्ययन गरिरहेका छन् । विद्यार्थी अभाव भएपछि विश्वविद्यालयले २०७७ मा औपचारिक शिक्षा हासिल नगरेका तथा बौद्ध ज्ञान भएकालाई स्नातक तहमा अध्ययन गर्न दिने विशेष निर्णय गरेको थियो । तर यो निर्णय कानुन विपरीत छ । यस्तो कानुन विपरीतको निर्णय अनुसार अहिले विश्वविद्यालयमा औपचारिक शिक्षा नै नलिएका, एसईई तथा कक्षा १२ पूरा नगरेका करिब ४० विद्यार्थीले भोट बौद्ध दर्शन विषयमा स्नातक तहमा पढिरहेका छन् । 

पढ्न पाउँदा विद्यार्थीहरू त खुसी नै छन् । तर उनीहरूको यो खुसी वैधानिक भने छैन । किनकि उनीहरूले पढिरहेको विषय वैधानिक भए पनि तह भने योग्यता नपुग्ने र अवैधानिक छ । 

विश्वविद्यालयका पदाधिकारी भने बुद्ध जन्मेको देशमा बुद्धको ज्ञानलाई विस्तार गर्ने उद्देश्यले कुनै औपचारिक शिक्षा नभए पनि गुम्बामा बौद्ध शिक्षा अध्ययन गरिरहेकाहरूलाई उच्चशिक्षाको अवसर सुनिश्चित गरेको तर्क गर्छन् । जुन आफैमा हास्यास्पद छ । गुम्बामा बौद्ध शिक्षा अध्ययन गरेकालाई १२ कक्षा सरहको मान्यता दिई भर्ना गरिएको उनीहरूको भनाइ छ ।  तर विश्वविद्यालयहरूको नियमन गर्ने निकाय विश्वविद्यालय अनुदान आयोगले अनौपचारिक रूपको गुम्बा शिक्षाकै भरमा उच्चशिक्षा अध्ययनको व्यवस्था गर्नु कानुन विपरीत रहेको जनाएको छ । 

परम्परागत गुम्बा, मदरसालगायतका शिक्षालाई मूलधारमा ल्याई सरकारको मान्यताका आधारमा मात्र उच्चशिक्षामा अध्ययनको व्यवस्था गर्नुपर्छ । तर, विश्वविद्यालयले आफूखुसी निर्णय गरि उच्चशिक्षा अध्ययनको व्यवस्था गर्दै जाने हो भने भोलि गम्भीर समस्या नआउला भन्न सकिन्न । यसकारण यो गलत परिपाटि रोक्न तथा यसलाई व्यवस्थित गर्न तत्काल अनुसन्धान र कारबाही अगाडी बढाउनुपर्छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement