बहानाबाजी गरेर खोज-अनुसन्धान नगर्ने संस्थालाई खारेज गरिन्छ : त्रिवि उपकुलपति

श्रावण २, २०८१ |नारायण किलम्बू
बहानाबाजी गरेर खोज-अनुसन्धान नगर्ने संस्थालाई खारेज गरिन्छ : त्रिवि उपकुलपति

काठमाडौं । विश्वविद्यालयहरुको प्राथमिकता उच्चशिक्षा अध्ययन अध्यापन गराउनु मात्र नभएर नयाँ खोज र अनुसन्धान गर्ने पनि हो । तर, देशकै पुरानो र ठुलो त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरुले खोज तथा अनुसन्धानमूलक कामै गर्न सकेका छैनन् ।

त्रिविअन्तर्गतको नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले ५३औं वार्षिकोत्सव मनाइरहँदा बजेट अभावले नयाँ खोज अनुसन्धानमूलक कार्य गर्न नसकेको जनाएको छ । तर विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले अब बहानाबाजी गरेर अनुसन्धान नगरे संस्था नै बन्द गर्ने चेतावनी दिनुभएको छ ।

नयाँ खोज र अनुसन्धानका लागि कुनै बेला नाम कहलिएको त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्र सिनास अहिले बजेट र जनशक्ति अभावको बहाना गरेर पन्छिँदै आएको छ । सन् १९७२ मा थिंक ट्यांकका रुपमा स्थापना भएको सिनासले गत वर्ष हुम्लाको सर्केगाड गाउँपालिकाको अध्यावधिक योजना, खेलकुद विश्वविद्यालय र नेपालको शीतयुद्धसम्बन्धी तीनवटा अनुसन्धान गरेको थियो । तर त्यसयता उसले कुनै काम गर्न सकेको छैन ।

कुनै बेला ७० जनासम्म अनुसन्धानका विज्ञ प्राध्यापक र १० करोड रुपैयाँ बजेट हुने यो संस्था अहिले बजेटको अभावमा अनुसन्धानको काम गर्नबाट पन्छिँदै आएको छ ।

सिनास मात्र होइन, त्रिविका आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र सेडा, व्यावहारिक विज्ञान तथा प्रविधि केन्द्र रिकास्ट, शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिडको अवस्था पनि उस्तै छ । मुलुकका लागि आवश्यक राष्ट्रिय महत्त्वका विषयहरु अनुसन्धानमा केन्द्रित हुनुपर्ने प्राज्ञिक संस्थाहरु बजेट अभाव देखाएर कामै नगरी बसेका छन् । तर विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले अब बहानाबाजी गरेर बस्ने संस्था नै खारेज गर्ने चेतावनी दिनुभएको छ ।

विज्ञ प्राज्ञभन्दा राजनीतिक भागबन्डाका आधारमा आफ्ना मान्छे नियुक्त गर्दा अनुसन्धान केन्द्रहरुले काम गर्न नसकेका हुन् । त्रिवि मात्र होइन देशका अन्य १० वटा विश्वविद्यालयले समेत अनुसन्धानका काम गर्न सकेका छैनन् ।

अनुसन्धानकै कारण विदेशका धेरै विश्वविद्यालय संसारमै नाम कहलिएका छन् । तर नेपालका विश्वविद्यालयमा अनुसन्धानका लागि दखल भएका प्राज्ञिक व्यक्ति हुँदाहुँदै पनि काम भएको छैन । देशका लागि आवश्यक खोज अनुसन्धानका लागि त्रिवि र सरकारले पनि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेछ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।