एसईईपछि नेपालमै के-के पढ्न पाइन्छ ?

श्रावण २, २०८१ |नारायण किलम्बू
एसईईपछि नेपालमै के-के पढ्न पाइन्छ ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) पछि धेरैजसो विद्यार्थीले कक्षा ११ मा विज्ञान र व्यवस्थापन विषय रोज्ने गर्छन् । तर, यति मात्र नभई विद्यार्थीका लागि स्वास्थ्य तथा प्राविधिक विषय र विदेशी बोर्डका कार्यक्रमहरु विकल्पका रुपमा छन्, जसबाट विद्यार्थीले आफ्नो ज्ञान र सीपको दायरा विस्तार गर्न सक्छन् । के हुन् त्यस्ता विषय ?

एसईई पास गरेपछि कक्षा ११ र १२ अध्ययनका लागि नेपालमा स्वदेशी तथा विदेशी बोर्डका विभिन्न कार्यक्रम सञ्चालित छन् । स्वेदशी बोर्डअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने हो भने नेपाल सरकारको स्वीकृति लिएका ५ हजार ६ सय शिक्षण संस्था छन् । यहाँ विद्यार्थीले विज्ञान, व्यवस्थापन, कानुन शिक्षालगायत विषय अध्ययन गर्न सक्छन् ।

११, १२ बाहेक प्राविधिक शिक्षातर्फ नर्सिङ, फार्मेसी, आयुर्वेद, डेन्टलजस्ता स्वास्थ्य शिक्षाका विषय पनि पढ्न पाइन्छ । त्यसैगरी इन्जिनियरिङ, कृषि, वन, होटेल म्यानेन्जमेन्ट, आईटीलगायत गरी डिप्लोमा तहमा ४९ वटा विषय सीटीईभीटीअन्तर्गत ६ सय ८७ वटा शिक्षण संस्थामा अध्यापन हुने सीटीईभीटीका सदस्य-सचिव महेश भट्टराईको भनाइ छ ।

यसैगरी नेपालमा विदेशी बोर्डअन्तर्गत स्विट्जरल्यान्डको आईबी डिप्लोमा, क्याम्ब्रिजको ए लेभल, सीबीएसईजस्ता शैक्षिक कार्यक्रममा समेतमा विद्यार्थी भर्ना हुन पाउँछन् ।

अभिभावकहरु भने विद्यार्थीको रुचिलाई ध्यानमा राखेर बोर्ड तथा विषय चयन गर्ने बताउँछन् । स्वदेशी कक्षा ११ र १२, प्राविधिक तथा विदेशी बोर्डअन्तर्गत अध्ययन गर्दा विद्यालय र बोर्डअनुसार शुल्क भने फरकफरक छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement