बुटवल । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले एसईईको पूरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताउनुभएको छ ।
नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले बिहीबार बुटवलमा गरेको विद्यार्थी सम्मान कार्यक्रममा ओलीले शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थी फेल भएको धारणा राख्नुभयो । उहाँले विज्ञ शिक्षकहरुबाट मुख्यमुख्य विषयको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताउनुभयो ।
ओलीले अबको केही दिनभित्रै विषयविज्ञ शिक्षकहरुबाट मुख्य विषयहरुको अनलाइन कक्षा सञ्चालन गर्ने जनाउनुभयो । ‘मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थी एसईईमा अनुत्तीर्ण हुनुभएको छ, अहिले अनुत्तीर्ण भए पनि पूरक परीक्षामा पास बनाउने गरी हामीले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै छौं त्यसमा जोडिन सबै विद्यार्थीलाई मेरो आग्रह छ,’ ओलीले भन्नुभयो ।
उहाँले फेल भएका विद्यार्थीलाई मौका परीक्षामा राम्रो तयारी गरेर सहभागी हुन पनि आग्रह गर्नुभयो । ‘अझै पनि केही बिग्रिएको छैन । मौका परीक्षा आउन एक महिना बाँकी छ । यो समयमा राम्रो तयारी गरेर पास हुने गरी परीक्षा दिनुभयो भने अहिले पास भएका विद्यार्थीसँगै पढ्न पाउनुहुनेछ । त्यसका लागि तयारी राम्रो गर्नुपर्यो,’ ओलीले भन्नुभयो ।
२०८० चैत १५ देखि सञ्चालन भएको एसईईमा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ ।
सोही परीक्षालक्षित गरी फेसबुक पेज र अनलाइनमार्फत निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको ओलीले बताउनुभयो । उहाँले शिक्षकहरुमा आफूभित्र भएको ज्ञानसमेत प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थी फेल भएको जनाउँदै अब शिक्षकहरुमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउन सुझाउनुभयो ।
अनेरास्ववियुले एसईईमा ४ जीपीए ल्याएर उत्तीर्ण रुपन्देहीको सैनामैना नगरपालिका ६ स्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यु होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ‘ए’ प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २८ विद्यार्थीलाई सम्मान गरेको हो ।
‘स्वाभिमानी नेपालीलाई कहिल्यै झुक्नु परेन’
अर्को प्रसंगमा उहाँले नेपाल सधैं स्वतन्त्र र स्वाभिमानी रहेकाले कुनै पनि मुलुकसामु कहिल्यै झुक्नु नपरेको बताउनुभयो । भूगोलमा सानो भए पनि स्वाभिमानमा देश सधैं उँचो रहेको उहाँको भनाइ छ । ‘हामी सधैं स्वतन्त्र भयौं कहिले कसैको दास भएनौं, हामीसँग त्यो दिवस नै छैन । यो गर्वको विषय हो । ती पूर्वजका सन्तान हौं । त्यसैले हामीले केही गरेर देखाउँछौं भन्ने हिम्मत छ,’ उहाँले भन्नुभयो, ‘मौका पायो कि नेपालीले गर्छ, त्यस्तो पुर्खाका सन्तान हौं, पूर्वज आविश्कारक । धेरै खोज गरेका थिए । त्यसैको बलमा अहिले हामी बलियो बनेका हौं, सफलता त्यसको जगमा छौं ।’
ओलीले आफू सफलतामा खुसी साट्न आएको पनि बताउनुभयो । सफलता पाउन इमानदार प्रयास हुनुपर्ने र इमानदारिताले सफलता खोज्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिले आफूलाई चिन्नुपर्छ । ज्ञानको सुरुवात यहीँबाट भएको धेरै प्रमाण छन् । अनेक कुराका ज्ञान यहीँबाट सुरु भएका हुन् ।’ उहाँले नेपालमा भएका धेरै अनुसन्धानले विश्वमा बजार पाउन नसकेको पनि सुनाउनुभयो ।