विज्ञान, गणित र अंग्रेजीका शिक्षक नपाएपछि...

असार १४, २०८१ |शमशेरविक्रम जीसी
विज्ञान, गणित र अंग्रेजीका शिक्षक नपाएपछि...

प्युठान । विद्यार्थीको शिक्षण सिकाइ सुधार्न योग्य शिक्षक चाहिन्छ । तर, शिक्षक अभावमा प्युठानका सामुदायिक विद्यालयहरुमा पठन-पाठन नै प्रभावित हुने गरेको छ । विज्ञान, गणित र अंग्रेजी विषयका लागि पटक-पटक सूचना आहृवान गर्दासमेत शिक्षक नपाइएपछि अध्यापन अनुमतिपत्र नै नभएका व्यक्तिलाई पनि शिक्षक बनाउने गरिएको छ ।

प्युठानको गौमुखी गाउँपालिका १ अर्खास्थित अर्खा माध्यमिक विद्यालयले गत वैशाख २५ गते विज्ञान वा गणित शिक्षकका लागि भन्दै विज्ञापन आह्वान गर्यो । पाँच पटकसम्म सूचना आह्वान गर्दासमेत कसैको दरखास्त नपरेपछि विद्यालयले अध्यापन अनुमतिपत्र लाइसेन्स नै नभएकाले पनि आवेदन दिनसक्ने गरी पुनः सूचना आह्वान गरेको प्रधानाध्यापक लीलुप्रसाद पौडेल बताउनुहुन्छ ।

यो त प्रतिनिधि घटना मात्रै हो । यसअघि पनि प्युठानका धेरै विद्यालयमा शिक्षक नहुँदा ६ पटकसम्म सूचना आह्वान गरिएको छ । लाइसेन्स नै नभएकालाई शिक्षक नियुक्त गरिएका थुप्रै घटना छन् । प्युठानलाई अहिले कति शिक्षकको आवश्यकता छ भन्ने नयाँ तथ्यांक शिक्षा कार्यालयसँगै छैन । केही वर्षअगाडि नै स्वीकृत एक हजार ९१ दरबन्दीमध्ये एक सय शिक्षक छैनन् । विद्यालय थपिए पनि दरबन्दी थपिएको छैन । सरकारी अनुदान र निजी स्रोतबाट शिक्षक भर्ना गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्युठानका प्रमुख दुर्गा खड्का बताउनुहुन्छ ।

योग्य शिक्षक नपाउँदा विद्यार्थीको सिकाइमै असर पार्ने गरेको महेन्द्र मावि खलंगाका प्रधानाध्यापक विष्णु पौडेलको भनाइ छ ।

रिक्त दरबन्दीमा शिक्षकको पदपूर्ति नहुँदा ग्रामीण क्षेत्रका अधिकांश विद्यालयमा विषयगत शिक्षकको अभाव हुने गरेको छ भने विद्यार्थीको अनुपातमा शिक्षकको नियुक्ति नहुँदा एउटै शिक्षकको जिम्मेवारीमा एक सयभन्दा बढी विद्यार्थी पर्ने गरेका छन् ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।