पनौती नगर अब शिक्षामा अग्रणी: अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित

असार २५, २०८२ |पुजन धिताल
पनौती नगर अब शिक्षामा अग्रणी: अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित

काभ्रे । पनौती नगरपालिकाले ऐतिहासिक कदमस्वरूप नगरलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगर घोषणा गरेको छ। 

संविधानको धारा ३१ बमोजिम नगरभित्रका प्रत्येक बालबालिकालाई शिक्षा पहुँचको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित यो घोषणा गरिएको हो।

नगर शिक्षा समितिको आयोजनामा सम्पन्न घोषणा समारोहमा नगर प्रमुख रामशरण भण्डारीले पाँच बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै, शिक्षा क्षेत्रमा हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी दिनुभयाे। 

उहाँले एसईई परीक्षामा जिल्लामै अग्रस्थान हासिल गर्न सफल बनाउने शिक्षक, अभिभावक, विद्यार्थी तथा विद्यालयको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गर्नु भयो ।

घोषणासँगै नगरपालिकाले केही महत्वपूर्ण प्रतिबद्धताहरू सार्वजनिक गरेको छ, जसअनुसार:

५ देखि १३ वर्ष उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना सुनिश्चित गरिनेछ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पोशाक, स्टेशनरी, यातायात र पुस्तकजस्ता शैक्षिक सामग्रीका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ।

शैक्षिक गुणस्तर वृद्धिका लागि आसीटी प्रविधि, पुस्तकालय, तिनतले शिक्षा र पठनपाठन सुधारमा जोड दिइनेछ।

विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन थप कार्यक्रम सञ्चालन गरिनेछ।

शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र सरोकारवालाबीच समन्वय गरी अनुगमन प्रणाली मजबुत बनाइनेछ।

पनौती नगरपालिकालाई शिक्षा क्षेत्रको यो उपलब्धिका लागि सम्मान-पत्र प्रदान गरिएको थियो। कार्यक्रमको प्रमुख आतिथ्य जिसस प्रमुख दीपक गौतमले पालिकालाई थप प्रभावकारी ढंगले काम गर्न आग्रह गर्दै शिक्षा अधिकार सुनिश्चितताका लागि निरन्तर प्रतिबद्ध हुन सुझाव दिनु भयो ।

कार्यक्रमको अन्त्यमा सहभागी सबैले सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै “एक पनि बालबालिका विद्यालयबाहिर नरहोस्” भन्ने नारालाई आत्मसात् गर्दै शिक्षा सुनिश्चितताप्रति ऐक्यबद्धता जनाएका छन् ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।