इञ्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता खोसिएको भन्दै आन्दोलनरत प्राध्यापकद्वारा सामूहिक राजीनामा

शैक्षिक र आर्थिक संकट उत्पन्न भएको दाबी
असार २५, २०८२ |नारायण किलम्बू
इञ्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता खोसिएको भन्दै आन्दोलनरत प्राध्यापकद्वारा सामूहिक राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू संस्थानको विकेन्द्रीकरण स्वायत्तता खोसिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । 

प्राध्यापकहरू ५ वटा आंगिक क्याम्पसको पठनपाठन ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् । स्वायत्तता खोसिँदा शैक्षिक र आर्थिक रूपमा गम्भीर संकट उत्पन्न भएको भन्दै अध्ययन संस्थान र क्याम्पसहरूका विभागीय प्रमुख, उपप्रमुख तथा प्राध्यापकहरूले सामूहिक राजीनामासमेत दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरू बुधबारदेखि पठनपाठन ठप्प पारी बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । २६ वर्षदेखि कार्यान्वयन भैरहेको संस्थानको विकेन्द्रिकरण र स्वायतत्तासम्वन्धी सबै अधिकार त्रिवि सिनेटले खारेज गरेपछि प्राध्यापक संघ-संगठनहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका हुन् । जसका कारण अध्ययन संस्थानअन्तर्गत ५ वटा आंगिक क्याम्पसका १५ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् ।

सिभिल, आर्किटेक्चर, कम्युटर, अटोमोबाइललगायत इञ्जिनियरिङ विधामा स्नातक तहदेखि विद्यावारिधिसम्म पठनपाठन भइरहेको संस्थानको विश्वविद्यालयमा छुट्टै पहिचान छ । 

२०५५ सालदेखि विकेन्द्रिकरण सिद्धान्त अनुसार चलेको अध्ययन संस्थानको शैक्षिक, आर्थिक र प्रशासनिक स्वायत्तता त्रिविले २०८० मा खोसेको थियो । सोही कारण संस्थानका ६ वटा विभागका प्रमुख, उपप्रमुख र ५ वटा आंगिक क्याम्पसका विभागीय प्रमुख गरी ६० भन्दा वढी प्राध्यापकहरूले संयुक्त रुपमा राजीनामा दिएका छन् ।

प्राध्यापकहरूको आन्दोलनका कारण आगामी भदौ १० देखि सुरू हुने स्नातक तहको परीक्षासमेत प्रभावित हुने भएको छ । त्रिविका पदाधिकारीहरूले भने संस्थानका प्राध्यापकहरुले उठाएका मागका विषयमा सिनेट बैठकमा छलफल गरी समाधानका उपाय खोजिने जनाएका छन् । 

विकेन्द्रिकरण खोसिएपछि अध्ययन अनुसन्धानमा समेत गम्भीर बाधा उत्पन्न भएको प्राध्यापकहरूको भनाइ छ । अतिरिक्त सेवा तथा भत्तामा समेत महालेखाले बेरूजू देखाएपछि उनीहरू सशंकित भएका छन् ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।