निजी विद्यालयले वर्षैपिच्छे फरक प्रकाशनका पाठ्यपुस्तक चलाउँदा अभिभावकमाथि आर्थिक भार

प्रकाशकसँग स्कुल र स्टेसनरी पसलको सेटिङ
सरकारी अनुगमन भने शून्य
वैशाख २५, २०८१ |विकास आर्या
निजी विद्यालयले वर्षैपिच्छे फरक प्रकाशनका पाठ्यपुस्तक चलाउँदा अभिभावकमाथि आर्थिक भार

महोत्तरी । मधेश प्रदेशका धनुषा र महोत्तरीमा निजी विद्यालयले वर्षैपिच्छे फरक प्रकाशनका पाठ्यपुस्तक चलाउने प्रवृत्ति यस पटक पनि दोहोरिएको छ । विद्यालय सञ्चालक कमिसनमा रमाउँदा त्यसको मार भने अभिभावक माथि परेको छ । विद्यालय, स्टेसनरी पसल र पुस्तक प्रकाशकको सेटिङमा अभिभावकको ढाड सेक्ने काम भइरहे पनि सरकारी अनुगमन शून्य छ । 

जनकपुर-जलेश्वरलगायतका धनुषा-महोत्तरीका सीमित ठाउँका केही पुस्तक पसलमा आजकल अभिभावक र विद्यार्थीको भिड देखिन्छ । निजी विद्यालयले विगतका वर्षझैँ यस पटक पनि फरक प्रकाशनको पाठ्य पुस्तक चलाएका छन् । जनकपुरका श्री राम हाइयर सेकेन्ड्री इङलिस बोर्डिङ विद्यालयले गत वर्ष एभरेस्ट मेप हाउस प्रकाशनको पाठ्यपुस्तक चलाएको थियो । तर यो शैक्षिक सत्रमा विद्यार्थीहरू पूजा प्रकाशनको पुस्तक पढिरहेका छन् । यसैले अभिभावकहरू नयाँ पुस्तक किन्न बाध्य छन् । कमिसनका लागि विद्यालयले पाठ्यपुस्तक फेरेको र सीमित पसलमा मात्र पाउने सेटिङ मिलाएको अभिभावकको आरोप छ ।

पुस्तक प्रकाशक र पसलेको सिन्डिकेटका कारण अभिभावकले यस वर्ष पुस्तक खरिदमा एक रुपैयाँ पनि छुट पाएका छैनन् । 

होलसेल र खुद्रा पसलेदेखि विद्यालय सञ्चालकसम्मलाई कमिसन दिनुपर्ने भएकाले प्रकाशकले पुस्तकको मूल्य मनपरी राखेका छन् । कमिसन कै कारण विद्यालयले बर्सेनि पाठ्यपुस्तक फेर्ने गरेका हुन् । प्रति १ बहुरङ्गी पृष्ठको मूल्य सरकार १ रुपैयाँ ४५ पैसा तोकेको छ तर प्रगया बुक एन्ड डिरिस्बुसन कम्पनीले प्रति १ पेजको बिक्री मूल्य १ रुपैयाँ ५५ पैसा राखेको छ । तर सरोकारवालाले अनुगमन र कारबाही गर्न सकेका छैनन् ।

एनप्याब्सनका अनुसार मधेस प्रदेशका दुई जिल्ला- धनुषा र महोत्तरीमा मात्रै निजी विद्यालयमा १ लाख भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तिनमा बर्सेनि ५० करोड रुपैयाँभन्दा बढी मूल्यको पुस्तक किनबेच हुन्छ । तर अभिभावक पुस्तकमा ठगिएको विषयमा कुनै निकायले पनि अनुगमन र कारबाही गर्न चासो दिएका छैनन् ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।