अमेरिकामा भएको विमान दुर्घटनामा ६७ जनाकै मृत्यु, घटनाबारे अनुसन्धान जारी

माघ १८, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकामा भएको विमान दुर्घटनामा ६७ जनाकै मृत्यु, घटनाबारे अनुसन्धान जारी

काठमाडौं । अमेरिकाको वाशिङटन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थल नजिकै यात्रुवाहक विमान र सेनाको ब्ल्याक हक हेलिकोप्टर आकाशमै ठोक्किँदा विमानमा सवार ६४ र हेलिकप्टरमा सवार तीन सैनिक गरी ६७ जनाकै मृत्यु भएको अधिकारीले जनाएका छन् । अमेरिकामा सन् २००१ पछिकै यो ठूलो दुर्घटना भएको बताइएको छ ।

राष्ट्रिय सुरक्षा यातायात बोर्डका अध्यक्ष जेनिफर होमेन्डीले पत्रकार सम्मेलन गर्दै विमान र हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जानकारी दिनुभएको रोयटर्सले जनाएको छ । उहाँका अनुसार उद्धारकर्ताहरूले अहिलेसम्म कम्तीमा २८ शव नदीबाट फेला पारेका छन् भने प्रतिकूल मौसमका कारण तत्काल खोजी कार्य स्थगित गरिएको छ ।

यस्तै उद्धारकर्ताहरूले अमेरिकन एअरलाइन्सको ब्ल्याक बक्स फेला पारेको सीएनएनले जनाएको छ । विमानमा रूस र अमेरिकाका स्केट खेलाडी, प्रशिक्षक र परिवार पनि सवार थिए ।

हिजो विचिटा, कान्सासबाट उडान भरेको अमेरिकन एअरलाइन्सको विमान रेगन राष्ट्रिय विमानस्थलको रनवे ३३ मा अवतरण गर्ने क्रममा आकाशमै हेलिकोप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ भने अनुसन्धानमा अमेरिकी सुरक्षा निकाय एफबीआईले समेत सघाउने बताएको छ ।

विमान दुर्घटनामा कुनै पनि व्यक्ति जीवित नरहेको विषयमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले समेत स्पष्ट पार्नुभएको सीएनएनले जनाएको छ ।

ट्रम्पले दुर्घटनाको विस्तृत अनुसन्धानको आदेश दिइएको बताउनुभएको छ । यस्तै ट्रम्पले घातक दुर्घटनाका लागि बिनाप्रमाण अघिल्लो जो बाइडेन प्रशासनको डीईआई (विविधता, समानता र समावेशीकरण) कार्यक्रमलाई दोष दिँदै यस कार्यक्रम अन्तर्गत, अपाङ्गता र मानसिक समस्या भएका व्यक्तिलाई एअर ट्राफिक नियन्त्रकको रूपमा भर्ती गरिएको आरोप लगाउनुभएको छ ।

उहाँले मुलुकको एअर ट्राफिक सिस्टम सही नरहेको भन्दै ओबामा र बाइडेन प्रशासनले एअर ट्राफिकमा सामान्य मानिसलाई काममा राखेको कारण दुर्घटना भएको बताउनुभएको हो ।

यस्तै उहाँले आफ्नो एक कार्यकारी आदेशलाई उद्धृत गर्दै एअर ट्राफिक नियन्त्रणमा उच्च मापदण्ड निर्धारण गर्ने स्पष्ट पार्नुभयो ।



Enter Kantipur TV HD
Advertisement