विज्ञान, गणित र अङ्ग्रेजीको प्रश्नपत्र सरल बनाउँदै पाठ्यक्रम विकास केन्द्र

शिक्षण सिकाइलाई नै प्रभावकारी बनाउन विज्ञको जोड
माघ १३, २०८१ |नारायण किलम्बू
विज्ञान, गणित र अङ्ग्रेजीको प्रश्नपत्र सरल बनाउँदै पाठ्यक्रम विकास केन्द्र

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यार्थीका लागि गाह्रो विषय मानिएको कक्षा ९ र १० का विज्ञान, गणित र अङ्ग्रेजी विषयको प्रश्नपत्र निर्माण प्रक्रियालाई अझै सरल बनाउने भएको छ । केन्द्रले यी विषयको विशिष्टीकरण तालिका परिमार्जन गरी खुला प्रश्न समावेश गर्ने तयारी गरेको हो ।

तर विज्ञहरूले भने यसो गर्दैमा धेरै विद्यार्थी पास नहुने भन्दै दक्ष शिक्षकको व्यवस्था गरी शिक्षण सिकाइलाई नै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

विद्यालय तहको प्रश्नपत्र निर्माण ज्ञान, बोध, प्रयोग र उच्चदक्षतामा आधारित हुने गर्छ, जसलाई विशिष्टीकरण तालिका भनिन्छ । तर कुन तालिकाबाट कस्ता खालका प्रश्न समावेश गर्ने भन्ने स्पष्ट नहुँदा प्रश्नपत्र निर्माणमै अन्योल हुने गरेको थियो । यही विषयलाई सुधार गर्ने गरी कक्षा ९ र १० को गणित, विज्ञान र अङ्ग्रेजी विषयको पाठ्यक्रमको विशिष्टीकरण तालिका परिमार्जन गर्न लागिएको हो ।

एसईई र कक्षा १२ मा विषयवस्तु अनुसार सबै पाठ्यवस्तुहरू समावेश गर्नेगरी विशिष्टीकरण तालिका प्रस्ट नहुँदा प्रश्नहरू गाह्रो हुने गरेको र धेरै विद्यार्थी फेल हुने गरेकाले पनि परिमार्जन आवश्यक भएको विज्ञको बुझाइ छ । उच्चदक्षता समूहबाटै खुला प्रश्न आउने भएपछि विद्यार्थीको शिक्षण सिकाइ र उपलब्धिमा सुधार आउने उनीहरूको भनाइ छ ।

अहिले पनि सामुदायिक विद्यालयको माध्यामिक तहमा गणित, विज्ञान र अङ्ग्रेजी विषय शिक्षकको धेरै अभाव छ । विषयगत शिक्षकको परिपूर्ति नभएसम्म पाठ्यक्रमको विशिष्टीकरण तालिका परिमार्जन गरी सरल खालको प्रश्न निर्माण हुँदैमा शिक्षण सिकाइ सुधार र धेरै विद्यार्थी पास हुन्छन् भन्ने अपेक्षा गर्न नसकिने शिक्षकहरूको बुझाइ छ ।

विशिष्टीकरण तालिका परिमार्जन भएपछि राष्ट्रिय परीक्षा बोर्डले सोही अनुरूप प्रश्नपत्र निर्माण गरी परीक्षा लिने छ । तर पाठ्यक्रम, विशिष्टिकृत तालिका र ग्रेडिङ प्रणालीको परिमार्जनले मात्र विद्यार्थीको सिकाइ उपलब्धि सुधार हुने होइन । त्यसका लागि सबैभन्दा पहिले विषयगत शिक्षकको व्यवस्था गरी कक्षाकोठाको शिक्षण सिकाइ प्रभावकारी बनाउनेतर्फ सरकारको ध्यान जान जरुरी छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement