मानविकी र शिक्षा शास्त्रतर्फको स्नातक तहलाई तीन वर्षे प्रणालीमै फर्काउने योजनामा नयाँ उपकुलपति

फाल्गुन १२, २०८० |नारायण किलम्बू
मानविकी र शिक्षा शास्त्रतर्फको स्नातक तहलाई तीन वर्षे प्रणालीमै फर्काउने योजनामा नयाँ उपकुलपति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक केशरजंग बरालले मानविकी र शिक्षा शास्त्र संकायको स्नातक तहलाई ४ वर्षेबाट तीन वर्षे बनाउने घोषणा गरेसँगै यसबारे बहस सुरु भएको छ । त्रिविले मानवीय संकायमा चार वर्षे स्नातक तहको पाठ्यक्रम लागू गरेको एक सर्कल अर्थात् चार वर्ष नै पूरा भएको छैन ।

शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै लागू गरिएको चार वर्षे प्रावधानले विद्यार्थी घटेको र बढी समय लागेको भन्दै उपकुलपतिले नयाँ प्रणालीसहितको पुनः तीन वर्षे प्रणालीमै फर्कने बताएका छन् । तर अध्ययनबिनै शैक्षिक कार्यक्रम परिमार्जनले मात्रै शिक्षाको गुणस्तर र विद्यार्थीको सङ्ख्या नबढ्ने दाबी विज्ञको छ ।

त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी संकायको ३ वर्षे कोर्सलाई २०७७ सालदेखि चार वर्षे बनाएको थियो । त्यसअघि २०७२ सालदेखि शिक्षा शास्त्र संकायको स्नातकलाई चार वर्षे बनाइएको छ । तर त्रिविका नवनियुक्त उपकुलपति प्राध्यापक केशरजंग बरालले मानविकी र शिक्षा शास्त्र संकायलाई पुनः तीन वर्षमै फर्काउने घोषणा गरे । 

परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा हुने गरेको ढिलाइकै कारण चार वर्षे कोर्ष पूरा गर्न विद्यार्थीलाई ६ वर्ष लाग्ने गरेको छ । जसले गर्दा यी दुवै संकायमा विद्यार्थी घटेका मात्र छैनन् विद्यार्थीको समय र त्रिविको जनशक्तिसमेत खेर गइरहेको छ । त्यसैलाई देखाएर उपकुलपतिले नयाँ प्रणालीसहितको तीन वर्षे कार्यक्रमसहित रूपान्तरण गर्ने बताएका हुन् ।

चार वर्षे शैक्षिक कार्यक्रमले उपलब्धि दिन नसकेको र शैक्षिक गुणस्तरसमेत वृद्धि नभएको उनको बुझाइ छ । शिक्षा शास्त्र संकायतर्फको चार वर्षे पाठ्यक्रमले शिक्षण पद्धतिमा सुधार नभएको बुझाइ उनको छ । 

अब शिक्षा शास्त्र संकायको स्नातक तहलाई तीन वर्षको बनाएर शिक्षक बन्न चाहनेका लागि थप एक वर्ष शिक्षण पद्धति नै पढाउने तयारी त्रिविको छ । तर चार वर्षे शैक्षिक कार्यक्रम लागू गरेर मात्र उच्चशिक्षाको गुणस्तर र विद्यार्थी सङ्ख्या बढ्न नसक्ने दाबी विज्ञको छ । त्रिविलाई नयाँ ढंगले अघि बढाउन शैक्षिक योजना नै आवश्यक रहेको उनीहरु बताउाछन् ।

त्यसो त भारत र युरोपका देशहरुमा स्नातक तहको शैक्षिक कार्यक्रम अहिले पनि तीन वर्षकै कार्यान्वयनमा छ । तर अमेरिकालगायतका केही देशमा चार वर्षे स्नातक तहको शैक्षिक कार्यक्रम नै छ । स्नातक तहको चार वर्षे शैक्षिक कार्यक्रम भएका देशमा थप अध्ययनका लागि जान चाहनेहरूका लागि अर्को एक वर्षको छुट्टै कोर्षमार्फत् प्रमाणपत्र दिने योजना त्रिविको छ ।

हुन त विश्वविद्यालयले २०५२ सालबाट दुई वर्षे स्नातक तहलाई ३ वर्षमा रूपान्तरण गरेको थियो । त्यसले शिक्षा नीतिमा परिवर्तन गरे पनि गुणस्तरमा सुधार भएन । बरु अहिले पनि बारम्बार राजनीतिक भागबन्डा र विवादका कारण विश्वविद्यालय तालाबन्दीको सिकार भइरहेको छ । 

परीक्षा सञ्चालनदेखि परीक्षाफल प्रकाशनमा चरम ढिलासुस्तीले विद्यार्थी आजित छन्, कुनै पनि कार्यक्रम समयमा पूरा हुने अवस्था छैन । यस्तोमा प्रभाव अध्ययन नै नगरी नवनियुक्त उपकुलपतिले शैक्षिक नीति फेरेर मात्रै विश्वविद्यालय सुधार हुनेमा शंकै छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।