त्रिवि उपकुलपति छनोट प्रक्रिया रद्द गर्न सांसदहरुको माग

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिवि उपकुलपति छनोट प्रक्रिया रद्द गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्टमा परेका १४ जनामध्ये विवादमा परेका व्यक्तिका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरुले सर्टलिस्टमा विवादित व्यक्तिसमेत परेको भन्दै प्रक्रिया नै रद्द गर्न माग गरेपछि समितिले शिक्षा मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको सभापति भानुभक्त जोशीले जनाए ।

बैठकमा सांसदहरुले बौद्धिक चोरी तथा सूचना लुकाएको आरोप लागेका तथा भ्रष्टाचारको मुद्दा लागेकाहरु सर्टलिस्टमा परेको भन्दै अल्पसूचीमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । विवादित व्यक्तिलाई सूचीबाटै हटाउनुपर्ने र प्रक्रिया पुनः सुरु गर्नुपर्ने कांग्रेस सांसद बद्री पाण्डे, एमाले सांसद विद्या भट्टराई र रास्वपाकी सांसद तोसिमा कार्कीको माग छ ।

शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले भने उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने तर बौद्धिक चोरी र सूचना लुकाएको विषयमा आवश्यक छानबिन गर्ने बताएका थिए । तर, कानुनअनुसार सर्टलिस्टबाटै उपकुलपति छनोट हुने उनको भनाइ थियो ।

सांसदहरुले राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयहरुमा सहायक डिन, विभागीय प्रमुख तथा कार्यवाहक उपकुलपति नियुक्ति गरिएको भन्दै आपत्तिसमेत जनाएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.