३ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ्यो

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
३ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले तीनवटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया अगाडि बढाएको छ ।

उपकुलपतिको पदावधि सकिन लागेका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा नियुक्तिका लागि सरकारले दरखास्त माग गरेको हो । पूर्वाञ्चल विश्वविद्यालयका लागि शिक्षामन्त्री र मध्यपश्चिम तथा सुदूरपश्चिमका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको अध्यक्ष प्राडा देवराज अधिकारीले जनाए ।

पूर्वाञ्चल विश्वविद्यालयका लागि १५ दिनको समय दिएर माघ २३ दरखास्त आह्वान गरिएको हो । त्यसैगरी मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका लागि १० दिनको समय दिएर माघ २६ गते दरखास्तको सूचना आह्‍वान गरेको हो । विश्वविद्यालयहरुमा उपकुलपति नियुक्तिका लागि पहिलोपटक खुला दरखास्त आह्वान गरिएको हो । प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्तिले विश्वविद्यालयको सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिका अध्यक्ष अधिकारीले जनाए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइराला, मध्यपश्चिम नन्दबहादुर सिंह र सुदूरपश्चिम विश्वविद्यालयका अम्मरराज जोशीको पदावधि यही फागुन १९ गते सकिँदै छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.