सिरहाको सारश्वरनाथ माविमा विवाद, पठनपाठन प्रभावित

माघ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सिरहाको सारश्वरनाथ माविमा विवाद, पठनपाठन प्रभावित

सिरहा । सिरहा नगरपालिका १२ मा रहेको सारश्वरनाथ माविमा प्रधानाध्यापकका विषयमा जारी विवादका कारण पठनपाठन प्रभावित भएको छ ।

अदालतको आदेश लिएर आएका प्रधानाध्यापकलाई हाजिर हुन नदिएपछि विद्यालयमा विवाद देखिएको हो । नगरपालिकाले विद्यालयका तत्कालीन प्रधानाध्यापक मोहम्मद सनाउल्ला राइनको सरुवा गत वैशाख २९ मा सिरहा नगरपालिका २२, हकपारास्थित श्री माविमा गरिदिएको थियो ।

त्यसविरुद्ध उच्च अदालत गएका राइनको सरुवा अदालतले बदर गरी गत असोज १४ मा साबिककै पदमा हाजिरी गराउन आदेश दियो । तर, राइनको सरुवा भएपछि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका जयचन्द्र यादवले उनलाई हाजिर हुन दिएका छैनन् ।

राइनलाई हाजिर हुन नदिएपछि त्यसयता विद्यालयमा निरन्तर विवाद हुँदै आएको छ । जसका कारण विद्यालयमा पठनपाठनमै समस्या उत्पन्न भएको छ ।

नगरपालिकाले राइनलाई हाजिर गराउन आधिकारिक पत्र नै काटिदिए पनि विद्यालयका हालका प्रधानाध्यापक यादव भने सबै निकायसँग सल्लाह गरी हाजिर गराउने कुरा एक महिनादेखि दोहोर्‍याउँदै आएका छन् ।

विद्यालयको समस्याबारे सरोकारवाला सबै जानकार भए पनि निकास दिन चासो नदिँदा विवाद बल्झिँदै गएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.