अनलाइनबाटै सेवा दिने त्रिविको तयारीमै अवरोध, विद्यार्थी फेरि पनि बल्खु नै धाउन बाध्य

वेबसाइट नै ह्याक हुँदा परीक्षा नियन्त्रण कार्यालयसँग सम्बन्धी काम प्रभावित
माघ २२, २०८० |नारायण किलम्बू
अनलाइनबाटै सेवा दिने त्रिविको तयारीमै अवरोध, विद्यार्थी फेरि पनि बल्खु नै धाउन बाध्य

काठमाडौं । विद्यार्थीलाई छिटो छरितो सेवा दिने उद्देश्यले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणाली सुरु गरेपछि खुसी भएका विद्यार्थी फेरि निराश भएका छन् । 

माघ १५ गतेबाट परीक्षासँग सम्बन्धी ११ प्रकारका सेवा अनलाइन माध्यमबाट सुरु गरेको दुई दिनमै ह्याकरले पुरै वेबसाइट सिस्टम नै ह्याक गरेको ५ दिन भइसक्यो । तर समस्या समाधान नहुँदा विद्यार्थी बल्खु धाउनुपर्ने बाध्यता छ । 

परीक्षासँग सम्बन्धी सबै काम घरमै बसेर अनलाइन माध्यमबाट हुने गरी माघ १५ गते सेवा सुरु भएपछि पोखराकी सुस्मिता तामाङ उत्साही थिइन । तर काठमाडौं धाउन नपर्ने उनको खुसी दुई दिन पनि टिकेन ।

१७ गते नै कक्षा १२ मा अध्ययनरत रोहित रोकायले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक गरिदिएपछि अहिलेसम्म त्रिविले अनलाइन सेवा सञ्चालन गर्न सकेको छैन । समय, पैसा र सास्ती सहेर सेवाग्राही बाध्य भएर बल्खुमै धाउनु परेको छ ।

त्रिविबाट उच्चशिक्षा हासिल गरेका विद्यार्थी ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिप र सच्चाउने लगायतका कामका लागि दैनिक दुई हजारको हाराहारीमा परीक्षा नियन्त्रण कार्यालय बल्खु धाउनुपर्ने बाध्यता छ । त्रिविले अनलाइन प्रणाली सुरु गर्दा धेरैले घरबाटै सेवा पाउने स्थिति छ । तर सिस्टम अवरुद्ध भएको पाँच दिन भइसक्दा पनि नियमित गर्न त्रिवि असफल छ । घरमा बसिबसी सेवा लिन सकिनेमा अहिले ह्याक भई सुचारु नहुँदा तनाव दौडधुप हुनुपरेको विद्यार्थी साकार चिमोरिया बताउँछन् ।

यता परीक्षा नियन्त्रण कार्यालयका सूचना प्रविधि विभाग प्रमुख दीपकबहादुर शाही महत्त्वपूर्ण डाटाहरूमा भने असर नपरेको बताउँछन् । सुरक्षा अपनाई पुन सञ्चालन गर्न पहल भइरहेको उनको भनाइ छ ।

वेबसाइट ह्याक भएपछि विश्वविद्यालयले छानबिन समिति नै गठन गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा समेत उजुरी परेको छ । तर विद्यार्थीको गोप्य कागजात र महत्त्वपूर्ण डाटाहरू नै प्रभावित हुने गरी सिस्टम ह्याक हुँदा पनि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले न छानबिन पुरा गरेको छ, नत सेवा नियमित नै ।

निर्णय भएको दुई वर्षपछि बल्ल त्रिविले अनलाइन सेवा सुरु गरेको हो । तर पनि सुरक्षा र दिगोपनका हिसाबले अनलाइन सेवा प्रभावकारी छ भन्ने सुनिश्चित गर्न त्रिवि सुरुमै चुकेको छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।