काठमाडौं । देशभरका ४ देखि १७ वर्षका ८ लाख ५३ हजार बालबालिका विद्यालयभन्दा बाहिर छन् । सरकारले हरेक वर्ष भर्ना अभियान सञ्चालन गरे पनि गरिबी, अशिक्षालगायत कारण अझै पनि अभिभावकले धेरै बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार ४ देखि १७ वर्ष उमेर समूहका ७५ लाखमध्ये ८ लाख ५३ हजार अर्थात ११ दशमलव ३ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । शिक्षा मन्त्रालयले दिएको पछिल्लो विवरणले ४ वर्ष उमेर समूहका २४ लाख ३९ हजार २ सयमध्ये बालविकासमा १८ दशमलव ५ प्रतिशत र कक्षा १ देखि ५ सम्म पढ्ने उमेर समूहका ८.१ प्रतशित बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेको देखाएको छ । त्यसैगरी कक्षा ६ देखि ८ उमेर समूहका ६.८ र ९ र १० का ७.४ प्रतिशत बालबालिका विद्यालयमा आउन नसकेको देखाएको छ । सबै बालबालिकालाई विद्यालयभित्र ल्याउने गरी हरेक वर्ष भर्ना अभियान सञ्चालन गरे पनि प्रभावकारी भने हुन सकेको छैन ।
सबैभन्दा बढी मधेश प्रदेशमा ३ लाख ९१ हजार अर्थात् ४५ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । त्यसैगरी लुम्बिनीमा १७, कोशीमा १२, बागमतीमा ९.३, सुदूरपश्चिममा ६.७, कर्णालीमा ४.३ र गण्डकीमा ३.७ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिरै छन् । गरिबी र अशिक्षाकै कारण अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन सकेका छैनन् भने राज्यले पनि यसमा खासै ध्यान दिएको छैन ।
गरिखाने अभिभावकलाई रोजगारीको अवसरसँगै विद्यालय बाहिर रहेका बालबालिकालाई लक्षित गरी विशेष कार्यक्रम ल्याउन सके ती बालबालिकालाई विद्यालय ल्याउन सकिने प्राध्यापक रामकृष्ण दुवालको बुझाइ छ ।
त्यसो त सरकारले विद्यालयबाहिर रहेका सबै बालबालिकालाई कक्षाकोठाभित्र ल्याउने गरी दुई दशकअघिदेखि भर्ना अभियान सञ्चालन गरे पनि प्रभावकारी हुन सकिरहेको छैन । सबै बालबालिकालाई अनिवार्य र निःशुल्क शिक्षा दिने नीति र कानुन बनाएको सरकारले पनि कार्यान्वयनमा खासै पहल गरेको देखिँदैन ।
यो पनि...