काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अनलाइन प्रणालीमार्फत सेवा सुरु गरेको छ ।
शैक्षिक प्रमाणपत्र लिन ढिलासुस्ती र समस्या भोग्नुपरेको गुनासो अन्त्यका लागि परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट, प्रोभिजनल, प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योगलगायत सेवा अनलाइन प्रणालीमार्फत सुरु गरेको हो ।
अनलाइन प्रणालीबाट प्रमाणपत्र लिन त्रिविको वेबसाइट टीयूएक्जाम डट ईडीयू डटएनपीमा लग इन गर्नुपर्नेछ । त्यसपछि सर्टिफिकेट लिंकमा क्लिक गरेर साइन अप गरेपछि विद्यार्थीको इमेलमा देखिने लिंकमा रजिस्ट्रेसन स्लिप अपलोड गरी ट्रान्सक्रिप्टमा गएर आवश्यक सूचना भर्नुपर्ने व्यवस्था छ ।
यसरी आवेदन फाराम भरेको एक सातामा शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने त्रिविका निमित्त उपकुलपति शिवलाल भुसालले जनाए ।
अब त्रिविमा परीक्षा र शैक्षिक प्रमाणसँग जोडिएका ११ प्रकारका काम अनलाइनबाटै हुनेछन् । त्रिविले निर्णय गरेको दुई वर्षपछि अनलाइन प्रणाली कार्यान्वयनमा आएको हो ।