त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

माघ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेकट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदानप्रदानका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त उपकुलपति डा. शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गरेका हुन् । सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा. चिरञ्जीवी खनाल र युइएसटिसीका प्राध्यापक हाङ्होङ रहेका छन् ।

सम्झौतापछि त्रिविका निमित्त उपकुलपति भुसालले यसले विभिन्न सम्भावनाको ढोका खोलेको भन्दै आगामी दिनमा दुई विश्वविद्यालयका बीचमा घनिभूत सहकार्य हुने विश्वास व्यक्त गरे । युइएसटिसीका प्रतिनिधि प्राध्यापक हाङहोङले आफ्नोतर्फबाट अध्ययन र अनुसन्धानका क्षेत्रमा सक्दो सहयोग गर्ने बताउँदै ज्ञान र सीपको पनि आदानप्रदान हुनुपर्ने बताए । 

सम्झौताका लागि पहल गर्ने प्रा. खनालको दुवै विश्वविद्यालयका बीचमा दीर्घकालीन रूपमा सहकार्य गर्न समझदारी भएको प्रतिक्रिया दिँदै पारस्परिक समानता र लाभको पारस्परिकताका सिद्धान्तमा आधारित आपसी हित र शैक्षिक सहयोगलाई सक्षम पार्न सम्झौता उपयोगी हुने जनाए । 

सम्झौतासँगै विद्वान, अनुसन्धानकर्ता र शिक्षण कर्मचारीको आदानप्रदान हुनेछ भने विद्यार्थीहरूकोसमेत आदानप्रदान हुनेछ । संयुक्त रूपमा कार्यशाला र सङ्गोष्ठीको आयोजना हुनेछ । यो सम्झौतामा पाँच वर्षका लागि हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.