नेपाल राष्ट्रिय पुस्तकालय जमलमा सार्ने योजना किन पर्‍यो अलपत्र ?

मंसिर २३, २०८० |नारायण किलम्बू
नेपाल राष्ट्रिय पुस्तकालय जमलमा सार्ने योजना किन पर्‍यो अलपत्र ?

काठमाडौं । २०७२ को भूकम्पले ललितपुरको हरिहर भवन क्षतिग्रस्त भएपछि त्यहाँ रहेको नेपाल राष्ट्रिय पुस्तकालय काठमाडौंको जमलमा सार्ने सरकारी योजना अलपत्र परेको छ । पहिले जनप्रशासन क्याम्पस रहेको त्रिभुवन विश्वविद्यालयको जग्गामा पुस्तकालय भवन बनाउने निर्णय सरकारले २०७५ सालमा गरेपछि विवाद उत्पन्न भएको थियो ।

विस्तृत योजनासहितको नक्सा बने पनि विवादका कारण प्रक्रिया अघि नबढ्दा भवन निर्माणस्थल घाँसे मैदानमा परिणत भएको छ । अहिले पुस्तकालय भक्तपुरको सानोठिमीमा कामचलाउ रुपमा सञ्चालन हुँदै आएको छ ।

नेपाल राष्ट्रिय पुस्तकालय रहेको ललितपुरको हरिहरभवन २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति पुर्याएपछि त्यहाँ रहेका ऐतिहासिक महत्वका पुस्तक लामो समय अलपत्र परे । सरकारले २०७५ असोजमा जमलस्थित त्रिविको ८ रोपनी जग्गामा पुस्तकालय भवन बनाउने निर्णय गर्यो । तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले जमलदेखि दशरथ रंगशालासम्मको एकीकृत योजना अघि सारेपछि निर्माण प्रकिया रोकियो । २०७७ मा सरकारले जमलमा पुस्तकालय नबनाउने निर्णय गरेकोमा २०७८ मा सरकारले पुन निर्णय उल्ट्यायो । तर जग्गा प्राप्ति तथा टेण्डर प्रक्रियालगायतको विवादका कारण पुस्तकालय निर्माण अझै अघि बढ्न नसकेको शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए ।

शिक्षा मन्त्रालयले भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको परिसरमा अस्थायी टहरा बनाएर पुस्तकहरु राखेको छ । अहिले पुस्तकालय आंशिक रुपमा सञ्चालन भइरहे पनि पाठकले समस्या झेल्नु परेको पुस्तकालयका प्रमुख दशरथ मिश्रले बताए ।

पुस्तकालय भवन बनाइने भनिएको जमलको उक्त जग्गामा त्रिचन्द्र क्याम्पसको आवास गृह, त्रिविको परीक्षा नियन्त्रण कार्यालय, शंकरदेव क्याम्पस तथा जनप्रशासन क्याम्पसका कक्षा सञ्चालन भएका थिए । घाँसे मैदानमा परिणत भएको उक्त जग्गामा त्रिविले अझै दाबी गरिररहेको त्रिचन्द्र क्याम्पसका पूर्वसहायक क्याम्पस प्रमुख जनकराज ढुंगानाको भनाइ छ ।

जमलमा ७४ करोड रुपैयाँको लागतमा सात तले अत्याधुनिक सुविधासम्पन पुस्तकालय भवन बनाउने योजना सरकारको थियो । अब टेण्डर लगायतको विवाद टुङ्गिएपछि छिटै निर्माण प्रक्रिया अगाडि बढाइने शिक्षा मन्त्रालयले जनाएको छ । 


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।