दिवा खाजाले विद्यालयको शिक्षा गुणस्तरमा सुधार

मंसिर २१, २०८० |माधव अर्याल
दिवा खाजाले विद्यालयको शिक्षा गुणस्तरमा सुधार

पाल्पा । संघीय सरकारले कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि १५ रुपैयाँ खाजा अनुदान दिएको छ । सरकारको यो अभियान पाल्पाको रम्भा गाउँपालिका र निस्दी गाउँपालिकामा निकै प्रभावकारी देखिएको छ । संघीय सरकारले दिएको अनुदानमा थप ५ रुपैयाँ थपेर स्थानीय तहले विद्यार्थीलाई खाजा खुवाइरहेका छन् ।

पाल्पाको रम्भा गाउँपालिका अन्तर्गत कक्षा ९ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजा बनाएर खुवाइन्छ । विद्यालय खाजा कार्यक्रम प्रभावकारी भएकाले यसलाई पालिकाले थप गरेरै भए पनि खुवाएको छ । पालिकाले कार्यपालिकाबाट कार्यविधि बनाएर प्रतिविद्यार्थी २० रुपैयाँ खाजा उपलब्ध गराएपछि शिक्षाको गुणस्तरमासमेत सुधार आएको रम्भा गाउँपालिकाको शिक्षा शाखा प्रमुख मीना आचार्यको दाबी छ ।

निस्दी गाउँपालिकाले संघीय सरकारले कक्षा ५ सम्म प्रदान गरेको १५ रुपैयाँमा ५ रुपैयाँ थपेर कक्षा ८ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरेको छ । भौगोलिक विकटताका कारण बालबालिका नियमित विद्यालयमा नबस्ने, दिउँसोको खाजा छुट्टीमा घर जाने गर्दा पढाईको गुणस्तरमासमेत असर गरेपछि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुरव दयालले बताए । 

विद्यालयमै खाजा खुवाउने योजनाअनुसार कार्यपालिका र गाउँसभाबाट नै निर्णय गरेर रम्भा गाउँपालिकाले विद्यार्थीलाई दैनिक फरक-फरक खाजा खुवाउने गरेको छ । पालिकाले विद्यालयमै खाजा खुवाउँदा शैक्षिक गुणस्तरमासमेत सुधार आएको छ । यति मात्र होइन, दिवा खाजा कार्यक्रमले बालबालिकालाई सामुदायिक विद्यालयमा भित्र्याउने र टिकाउने काम गरेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले दाबी गरे ।

रम्भा गाउँपालिकाका ३५ विद्यालयमा यो कार्यक्रम लागु भएको छ भने निस्दी गाउँपालिकाले ५२ वटै विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ । 


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।