विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्डमा के छ ?

मंसिर १८, २०८० |नारायण किलम्बू
विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्डमा के छ ?

काठमाडौं । बालबालिकालाई शिक्षा दिने र नैतिकता सिकाउने थलो हो- विद्यालय । तर, तिनै विद्यालयहरूको भौतिक संरचना कमजोर हुँदा पठनपाठन मात्र प्रभावित हुने गरेको छैन, शिक्षक र विद्यार्थीमा त्राससमेत हुने गरेको छ । 

कमजोर भौतिक संरचनाकै कारण भूकम्पलगायतका विपत्ति आउँदा क्षतिसमेत धेरै हुने गरेको छ । सरकारले देशभरका करिब १५ हजार विद्यालयका भवन कमजोर रहेको तथ्यांक नै सङ्कलन गरेको छ । शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयका पूर्वाधारमा एकरूपता कायम गर्न र शिक्षण सिकाई मैत्री बनाउन पहिलो पटक विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड जारी गरेको छ । विज्ञहरूले भने भूकम्प प्रतिरोधी विद्यालय भवन बनाउन जोड दिएका छन् ।

शिक्षा मन्त्रालयका अनुसार देशभर २८ हजार सामुदायिक विद्यालयको कक्षा १ देखि १० सम्म करिब ५५ लाख विद्यार्थी पढ्छन् । तर यी सबै विद्यालयका भवन सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी छैनन् । कतिपय विद्यालय त जीर्ण भवन र टहरामा सञ्चालित छन् । 

यस्तो अवस्था अन्त्य गरी विद्यालय भवनका संरचनामा एकरूपता कायम गर्न शिक्षा मन्त्रालयले विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड नै जारी गरेको छ । मापदण्डमा विद्यालयको कक्षाकोठाको आकार प्रतिविद्यार्थी न्यूनतम १ वर्ग मिटरको हुनुपर्ने र कक्षाकोठाको साइज ६० वर्ग मिटरभन्दा ठूलो बनाउन नपाइने उल्लेख छ । भौतिक संरचनालाई शिक्षण सिकाई मैत्री बनाउन राष्ट्रिय मापदण्ड बनाइएको हो ।

देशभरका २८ हजार सामुदायिक विद्यालयमध्ये करिब १० हजार पुरानो र कमजोर अवस्थामा छन् । विद्यालयको भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड नहुँदा स्थानीय तहले आफूखुशी निर्माण, पुनर्निर्माण र मर्मत सम्भार गर्नै आएका छन् । शिक्षा मन्त्रालयले नै मापदण्ड बनाइसकेपछि अब कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यालय भवन निर्माणका लागि १५ सय ३० वर्ग मिटर, कक्षा १ देखि ८ सम्मका लागि २५ सय ४५ र माध्यमिक तह १ देखि १० कक्षासम्मका लागि ३३ सय १० वर्गमिटर जग्गा हुनुपर्ने छ ।

त्यसैगरी कक्षा १ देखि १२ सम्म अध्ययन गराउन विद्यालयका लागि ४ हजार ७२ वर्गमिटर जग्गा अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी विद्यालय भवन बनाउँदा ६० प्रतिशत जमिन खाली छाड्नुपर्ने छ । त्यसैगरी कक्षाकोठासँगै खानेपानी, शौचालय, शिक्षक प्रशासनिक कार्यकक्ष, खेल मैदान, पुस्तकालय, भान्सा तथा खाजाघर, मनोरञ्जन कक्ष, बैठक कक्ष, पोसाक वा स्यानिटरी प्याड परिवर्तन कक्ष अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले विद्यार्थीको शिक्षण सिकाइमा समेत सकारात्मक परिवर्तन आउने शिक्षक तथा अभिभावकको बुझाई छ ।

सरकारले विद्यालयको भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड बनाउँदा भूकम्प प्रतिरोधी भवन बनाउनुपर्ने भनेको छ । नेपाल भूकम्पीय जोखिम क्षेत्रमा पर्ने भएकाले यस्तो मापदण्डलाई विज्ञहरूले पनि सकारात्मक भनेका छन् ।

त्यसो त शिक्षा मन्त्रालयले जारी गरेको विद्यालय भौतिक पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड निजी विद्यालयले समेत अनिवार्य पालना गर्नुपर्ने छ । तर, कयौँ विद्यालयले थोरै जग्गा लिएर सञ्चालित भइरहेकाले उनीहरूले यो मापदण्ड कत्तिको पालना गर्न सक्छन्, त्यो भने अहिले नै भन्न सकिने अवस्था छैन ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।