काठमाडौं । शिक्षा मन्त्रालयले जाजरकोट भूकम्पबाट प्रभावित तीन जिल्लाका १६ हजार पाँच सय विद्यार्थीसम्म यथाशीघ्र पाठ्यपुस्तक पुर्याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ ।
गत कात्तिक १७ गते गएको भूकम्पका कारण जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिमका साढे १६ हजार विद्यार्थीको पाठ्यपुस्तक भत्किएका घरसँगै पुरिएको र तिनीहरुका लागि करिब ८० हजार थान पाठ्यपुस्तक आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
विद्यालय सञ्चालनमा आए पनि पुस्तकको अभावमा कक्षा १ देखि १० सम्मका ती विद्यार्थीको पठनपाठन र शिक्षण सिकाईमा बाधा पुगेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाले जानकारी दिए ।
मन्त्रालयका अनुसार भूकम्पले २०८ विद्यालयमा पूर्ण र ४१८ विद्यालय आंशिक क्षति पुगेको थियो ।
यसैबीच जनक शिक्षा सामग्री केन्द्रले भूकम्प प्रभावित जिल्लाका विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक नेपालगन्ज र सुर्खेतस्थित प्रादेशिक कार्यालयमा पुगिसकेको जनाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिककुमार झाका अनुसार त्यहाँबाट केही दिनमै विक्रेतामार्फत विद्यालयसम्म पुस्तक पुर्याउनेछ ।
भूकम्पले क्षति पुगेका विद्यालयका स्थानमा अस्थायी शिक्षण केन्द्र निर्माण गरी पठनपाठन सुरु गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।