महिला टी-ट्वेन्टी विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालकाे पहिलाे जित

वैशाख २७, २०८२ |खेल ब्युरो
 महिला टी-ट्वेन्टी विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालकाे पहिलाे जित

काठमाडौं । नेपाली महिला क्रिकेट टिमले आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया क्षेत्र छनोटमा पहिलो जित हात पारेको छ। थाइल्यान्ड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले ४२ रनको लक्ष्य ४ ओभर दुई बलमा पूरा गरेर जित हात पारेको हो।

वर्षाले अवरोध गरेपछि टस ढिलो भएको थियो। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि बहराइन ब्याटिङमा आएको थियो। पाँच ओभरमा घटाइएको खेलमा बहराइनले एक विकेट गुमाएर ४१ रन बनायो। 

ओपनर ज्यानब फाजिल २ रनमै आउट भइन्। उनको विकेट पुजा महतोले लिएकी हुन्। तर, दीपिका रासाङ्गिकाले १३ बलमा ३४ रनको विस्फोटक पारी खेलेर बहराइनलाई बलियो अवस्थामा पुर्याइन् । उनले ६ चौका र एक छक्का प्रहार गरिन्।

जवाफमा नेपालले ४ ओभर दुई बलमा ४२ रनको लक्ष्य पूरा गर्‍यो। ओपनर कविता कुँवरले सर्वाधिक १८ रन बनाइन भने सम्झना खड्काले पनि १३ रनको योगदान गरिन्। 

चार चौका प्रहार गरेकी कविता रनआउट भइन्। इन्दूले ५ बलमा ७ रन जोडिन्। नेपाल र बहराइनबीच यसअघि भएका दुई खेलमा पनि नेपाल नै विजयी भएको थियो। नेपालले एक खेल १० विकेट र एक खेल ८ विकेटले जितेको इतिहास छ। 

आजको जीतसँगै तीन अंक बनाएको नेपाल समूह सीको शीर्षस्थानमा छ। अब नेपालले आउँदो मंगलबार फेरि हङकङको सामना गर्नेछ। पहिलो खेलमा नेपालले हङकङसँग अंक बाँड्नु परेको थियो। 

वर्षाको कारण खेल नभएपछि अंक बाँड्नु परेको हो। यस्तै, आजका लागि तय भएको थाइल्यान्ड र भुटानबीचको खेल रद्द भएसँगै दुवै टिमले अंक बाँडेका छन। खेल रद्द भएसँगै थाइल्यान्ड समूहको शीर्षस्थानमा पुगेको छ।