काठमाडौं । महिला फिफा विश्वकपमा सहभागी टोलीको संख्या बढाइने भएको छ। सन् २०३१ देखि महिला फिफा विश्वकप खेल्ने देशहरूको संख्या ३२ बाट बढाएर ४८ पुर्याइने भएको फिफाले जानकारी दिएको हो।
फिफा कार्यकारी परिषद्को शुक्रबार राति बसेको भर्चुअल बैठकले टोलीको संख्या बढाउने प्रस्ताव अनुमोदन गरेको हो। छ वर्षपछि आयोजना हुने विश्वकपमा लागू हुने नयाँ ढाँचाअनुसार अब १२ समूह रहनेछन्।
सबै समूहमा समान चार चार टोली हुनेछन्। यससँगै खेल संख्या पनि ६४ बाट बढेर १ सय ४ हुने भएको छ। त्यसैगरी प्रतियोगिता एक साता थप लम्बिनेछ। यो ढाँचा सन् २०२६ मा पुरूष विश्वकपमा लागू गरिने ढाँचासँग मेल खाने फिफाले जानकारी दिएको छ।
सन् २०२७ मा ब्राजिलमा आयोजना हुने महिला विश्वकपमा भने ३२ टोली नै सहभागी हुनेछन्। २०२३ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा सम्पन्न विश्वकपमा पहिलो पटक ३२ टोली सहभागी बनेका थिए।
त्यसैगरी, यसअघि सन् २०१९ मा फ्रान्समा भएको संस्करणमा २४ टोली मात्रै सहभागी थिए। फिफाले महिला विश्वकपका लागि भने छोटो-छोटो समयमा सहभागी टिमको संख्या परिवर्तन गरेको हो।
एक दशक बीचमै सहभागी टोलीको संख्या दोब्बर हुने भएको हो। फिफा अध्यक्ष जियानी इनफान्टिनोले यसलाई महिलाको फुटबललाई समग्र रूपमा अगाडि बढाउने अर्को महत्वपूर्ण कदम भएको बताए।
सन् २०२६ को पुरूष विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्। यो विश्वकपमा पहिलो पटक ४८ टोली सहभागी हुनेछन्।