काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ मातृभाषा प्रचलनमा रहे पनि ३० भन्दा बढी भाषा लोपोन्मुख अवस्थामा छन् । मातृभाषाको संरक्षणका लागि मातृभाषी समुदायका लेखकहरुले साहित्यिक रचना प्रकाशन गर्ने गरेका छन् ।
राज्यको प्राज्ञिक निकाय प्रज्ञा प्रतिष्ठानले समेत तीन दशकअघिदेखि नै मातृभाषाका कविताहरुलाई संकलन गरी प्रकाशन गर्दै आएको छ । नीतिगत रुपमा उन्नयनका प्रयास भए पनि मातृभाषामा कलम चलाउने भने घट्दो क्रममा छन् ।
२०४७ को संविधानपछि नेपालका मातृभाषाहरुको संरक्षण र उन्नयनलाई सरकारले प्राथमिकता दिँदै आएको छ । त्यसयता प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय भाषाका कविता तथा साहित्यिक लेख रचनाहरु प्रकाशन गर्दै आएको छ । २०५४ देखि त पाठ्यक्रम विकास केन्द्रले प्राथमिक तहमा मातृभाषाको ऐच्छिक पठनपाठनको व्यवस्था नै गर्यो जसबाट मातृभाषाका साहित्यिक रचनाले प्राथमिकता पाउन थाले । ०६२/६३ को जनआन्दोलनपछि मातृभाषामा प्रकाशन/प्रसारणका थुप्रै माध्यमहरुको विकास भएको नेपाल प्रज्ञा प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख राजन मुकारुङ बताउँछन् ।
मातृभाषामा साहित्यिक कृति प्रकाशन/प्रशारण गर्ने तथा गोष्ठी सञ्चालन गरी विमर्शसमेत गर्ने गरिन्छ । तर मातृभाषामा कलम चलाउनेहरुको संख्या भने घटिरहेको छ । राज्यले संरक्षणको नीति लिए पनि पर्याप्त स्रोत र प्रभावकारी कार्यक्रमको अभावमा मातृभाषामा साहित्यिक लेखनको आकर्षण कम हुँदै गएको साहित्यकार धीरेन्द्र प्रेमर्षिको बुझाइ छ ।
पाठक-स्रोताको अभावका कारण मातृभाषा साहित्य लेखनमा कम आकर्षण भएको देखिन्छ । नेपालमा मैथिली, भोजपुरी, थारु, तामाङ, नेपालभाषा, वान्तवालगायत ५० भन्दा बढी भाषामा अहिले पनि बर्सेनि दुईभन्दा बढी साहित्यिक कृति प्रकाशन हुने गरेका छन् । तर व्यावसायिक रुपमा भने टिक्न सकस भएको सर्जकहरुको भनाइ छ ।