१४ हजार भूकम्पपीडित बालबालिकालाई छैन पाठ्यपुस्तक

खुला आकाशमा पढ्दै
मंसिर १५, २०८० |कान्तिपुर टीभी संवाददाता
१४ हजार भूकम्पपीडित बालबालिकालाई छैन पाठ्यपुस्तक

जाजरकोट । जाजरकोट र रुकुम पश्चिमका १४ हजार बालबालिकाले एक सातादेखि पाठ्यपुस्तकबिनै पठनपाठन गरिरहेका छन् ।

गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्किँदा उनीहरुको शैक्षिक सामग्री पुरिएको थियो ।

भूकम्प प्रभावित जिल्लामा मंसिर पहिलो सातादेखि पठनपाठन थालिएको हो । शिक्षा मन्त्रालयका अनुसार भूकम्पले पूर्ण क्षति पुर्‍याएका २ सय ८ विद्यालयका विद्यार्थीका लागि अस्थायी टहरामा पठनपाठन सञ्चालन गरिएको छ । ४१८ विद्यालय भवनमा आंशिक क्षति पुगेको छ ।

रुकुम पश्चिमका ४१ हजार विद्यार्थीमध्ये ६ हजार विद्यार्थीको पाठ्यपुस्तक पुरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । जाजरकोटको नलगाड नगरपालिकाका विद्यालय निरीक्षक बलवीर विकले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीको संख्या पहिचान गरेर वितरणको प्रक्रियामा रहेको जनाए ।

शिक्षा मन्त्रालयले पाठ्यपुस्तक नभएका विद्यार्थीलाई तत्काल नयाँ पुस्तक बिक्री-वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पुस्तक वितरण सुरु गरिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्षति पुगेका विद्यालय भवन निर्माण गर्न ५४ करोड बजेट आवश्यक पर्ने अनुमान शिक्षा मन्त्रालयले गरेको छ । भूकम्पले जाजारकोट र रुकुम पश्चिममा ६७ जना विद्यार्थी र एक शिक्षकको मृत्यु भएको थियो भने ७१ विद्यार्थी र दुई शिक्षक घाइते भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.