सीटीईभीटीको शैक्षिक तालिका परिमार्जन

मंसिर १५, २०८० |कान्तिपुर टीभी संवाददाता
सीटीईभीटीको शैक्षिक तालिका परिमार्जन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विद्यालय तहको प्राविधिक धारका विद्यार्थीले समेत भर्ना पाउने गरी शैक्षिक तालिका परिमार्जन गरेको छ ।

एसईईको नतिजा आएको लामो समयसम्म पनि भर्ना प्रक्रिया अघि नबढाउँदा विद्यार्थी मारमा पर्ने गरेको गुनासोपछि सीटीईभीटीले नयाँ शैक्षिक तालिका जारी गरेको हो ।

सीटीईभीटीले भर्ना प्रक्रियादेखि नतिजासम्म ढिलाइ गर्दा तीनवर्षे शैक्षिक कार्यक्रमलाई चार वर्षसम्म लाग्ने गरेको गुनासो विद्यार्थी तथा अभिभावकले गर्दै आएका थिए । अब एसईईको नतिजा सार्वजनिक भएको दुई सातामै नयाँ भर्नाका लागि प्रक्रिया सुरु गर्ने र समयमै परीक्षा तथा नतिजा सार्वजनिक गर्ने गरी तालिका सार्वजनिक गरिएको सीटीईभीटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जनाए ।

सीटीईभीटीअन्तर्गत एक हजार १८२ वटा शिक्षण संस्थामा ८४ हजार सिट भए पनि ३४ हजार मात्र विद्यार्थी अध्ययनरत छन् । ती संस्थामा स्वास्थ्य, इन्जिनियरिङ, कृषि, वनलगायत प्राविधिक शिक्षाको पठनपाठन भइरहेका छन् । यस्तै, सीटीईभीटीका शिक्षण संस्थामा शिक्षक अभावमा गुणस्तर पनि खस्किरहेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.