काठमाडौं । बिरामी रेखदेख र उपचारमा नर्सको भूमिका महत्त्वपूर्ण मानिन्छ । नर्सको रूपमा सेवा गर्न नर्सिङ परिषद्ले लिने लाइसेन्स परीक्षा पास गर्नु अनिवार्य छ । तर, यसपटक परिषद्ले लिएको प्रमाणपत्र तहको लाइसेन्स परीक्षामा झन्डै ८१ प्रतिशत विद्यार्थी फेल भएका छन् । यसले समग्र नर्सिङ शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न उब्जिएको छ ।
नेपाल नर्सिङ परिषद्ले लिएको प्रमाणपत्र तहको नर्सिङ लाइसेन्स अर्थात् नर्सको नाम दर्ता परीक्षामा १२ सय ७० परीक्षार्थी सहभागी भएकोमा १९ प्रतिशत अर्थात् २ सय ४६ जना मात्र पास भए । परीक्षामा झन्डै ८१ प्रतिशत विद्यार्थी फेल भएका छन् । कोभिडका कारण विद्यार्थीले राम्रोसँग पढ्न र व्यावहारिक अभ्यास गर्न नपाउँदा र शिक्षण सिकाई कमजोर हुँदा यति धेरै विद्यार्थी फेल भएको परिषद्को दाबी छ ।
यस्तै, स्नातक तहको बीएस्सी नर्सिङ लाइसेन्स परीक्षामा ४ सय १४ परीक्षार्थीमा २ सय ३ अर्थात् ४९ प्रतिशत मात्र पास भएका छन् । नर्सिङ लाइसेन्स परीक्षामा विगतमा ६० प्रतिशतभन्दा बढी पास हुने गरेकोमा यसपालि धेरै विद्यार्थी फेल हुनु दुःखद भएको परिषद् अधिकारीहरूको भनाइ छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्- सीटीईभिटीअन्तर्गत नर्सिङको अन्तिम वर्षको परीक्षामा ४ हजारमध्ये ७० प्रतिशत अर्थात् ३ हजार विद्यार्थी पास हुने तर लाइसेन्समा ८० प्रतिशतभन्दा बढी फेल हुनुले समग्र नर्सिङकै गुणस्तरप्रति नै चिन्ता बढाएको सरोकारवालाहरू बताउँछन् ।
नर्सिङ विषयको लाइसेन्स परीक्षामा यति धेरै फेल हुँदा विद्यार्थी, शिक्षक र अभिभावक सबै गम्भीर देखिएका छन् । यसले नर्सिङ शिक्षामा धेरै सुधारको आवश्यकता देखिएको उनीहरूको भनाइ छ ।
अहिलेसम्म ७८ हजारले नर्सिङको लाइसेन्स लिएका छन् । नर्सिङ मात्र होइन पछिल्लो समय चिकित्सा शिक्षाका हरेक विधाको लाइसेन्स परीक्षामा धेरै विद्यार्थी फेल भइरहेका छन् । यसले नेपालको समग्र चिकित्सा शिक्षाको गुणस्तर मात्र खस्किएको छैन, सेवामा समेत प्रभाव पर्न थालेको छ ।